मनोज पुनसंगको संगठित अपराधमा संलग्न माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित ५ जना समातिए

1.3K

मनोज पुनसंगको संगठित अपराधमा संलग्न माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित ५ जना समातिए

बुटवल, ५ बैशाख । कुख्यात अपराधि मनोज पुनसंगको संगठित अपराधमा संलग्न रहेको अभियोगमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।युवासंघका तत्कालिन जिल्ला अध्यक्ष दुर्गा तिवारी तथा नेता बसन्त पौडेल (बलु) को हत्याको मुख्य योजनाकार मनोज पुनलाई सूचना दिने, पैसा असुलीकालागि व्यक्तिगत विवरण उपलब्ध गराउने र असुली भएको पैसाको व्यबस्थापन गर्ने लगायतका काममा संलग्न रहेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य देवदह नगरपालिका वडा नं. ४ का लेखनाथ न्यौपाने, एमालेको भातृ संगठन युवासंघका लुम्बिनी अञ्चल सदस्य तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका प्रदेश सदस्य बुटवल ७ का उत्तम आचार्य, माओवादी केन्द्रका देवदह ५ बस्ने तुलसी न्यौपाने, देवदह ६ का रोषन खड्कालाई मंगलबार रुपन्देहीका बिभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै स्याङ्जा पुतलीबजार ४ घर भई हाल बुटवल ४ बस्ने मदिरा उद्योगी हरिप्रसाद श्रेष्ठलाई आफ्नै विजनेस पाटनरलाई हत्या गर्न संगठित अपराधमा संलग्न व्यक्तिहरुलाई प्रयोग गरेको आरोपमा पहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार ईलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार दुर्गा तिवारी तथा बसन्त पौडेलको हत्या पछि युवा संघ र प्रहरीको गोप्य बैठकमा समेत उत्तमको उपस्थिती हुने र हत्यामा संलग्नलाई पक्राउ गर्नकालागि चर्को दवाव दिने गरेका थिए । तर बाहिरी आवरणमा प्रहरीलाई दवाव दिएजस्तो गरेपनि भित्री रुपमा उत्तमले यहाँ भएका सबै सूचनाहरु मनोज पुनलाई दिने गरेको र मनोज पुनको इन्काउन्टर हुनु भन्दा केही दिन अंगाडीसम्म यहाँको सूचना मनोजसंम्म पुगेको भेटिएको प्रहरी उपरिक्षक ज्ञवालीले बताउनु भयो ।

रुपन्देही तथा आसपासका जिल्लाका व्यक्ति विवरण पठाउने र असुली भएको पैसाको समेत व्यबस्थापन गर्ने काम उत्तम तथा लेखनाथले गर्ने गरेका थिए । यहाँका व्यापारी व्यबसायीसंग फिरौती असुलीकालागि भारतीय नागरिक समेत संलग्न रहेको र उनीहरुको व्यवस्थापन लेखनाथले गरेको प्रहरी उपरिक्षक ज्ञवालीले बताउनु भयो । दुर्गा तिवारीको हत्या लगत्तै प्रहरीले उत्तमलाई पक्राउ गरेपनि तत्कालै छाडेको थियो ।

रुपन्देहीको देवदह नगरपालिका भलुहीमा सञ्चालित मोहिनी हाईजिन मदिरा उद्योगका सञ्चालक श्रेष्ठले सोही उद्योगका सञ्चालक अर्जुन श्रेष्ठ र उद्योगका प्रमुख कार्यकारी अधिकृत डिलाराम आचार्यको हत्या गराउनकालागि मनोज पुनको संगठित अपराधमा लागेका व्यक्तिलाई २ लाख रुपैंयाको सम्झौता गरी ९० हजार रुपैंया पेस्की दिएका थिए ।

तर २०७२ कात्तिक २२ गते बुटवल वडा नं. ७ निवासी नारायणबाबु बस्नेतलाई गोही प्रहार गरी हत्या प्रयासमा संलग्न भएको अभियोगमा उनीहरु समातिए । प्रहरीले गिरफ्तार गरेपछि मदिरा उद्योगी श्रेष्ठले लगाएको काम अर्जुन र डिलाराम हत्या योजना योजनामै सिमित रह्यो ।

हरि श्रेष्ठ र अर्जुन श्रेष्ठको संयुक्त लगानीमा मोहीनी हाईजिन मदिरा उद्योग सञ्चालनमा थियो । तर करिव २ वर्ष अंगाडी दुईजना बिच मनमुटाव भएपछि हरि श्रेष्ठले उक्त उद्योगबाट लगानी फिर्ता लिएर एकल रुपमा अर्जुनले सञ्चालन गर्दै आएका छन् ।

यता हरिले आफ्नै छोरी ज्वाईको नाममा गुराँस डिष्टिलरी सञ्चालन गरेका छन् । मोहीनी हाईजिङसंगको व्यबसायिक प्रतिस्पधा अन्त्यकालागि हरिले अर्जुन र डिलारामलाई समाप्त पार्ने योजना बुनेको हुनसक्ने प्रहरीको अनुमान छ ।

पक्राउ परेका उनीहरुलाई संगठित अपराध अन्तरगत कर्तव्य ज्यान, जवरजस्ती असुली, हातहतियार तथा खरखजना मुद्धामा कारवाही अंगाडी बढाईने प्रहरी उपरिक्षक ज्ञवालीले बताउनु भयो ।