बुटवल, २५ भदौ । बनमन्त्री तथा भूसंरक्षण मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान कार्यान्वयनकालागि एमाले सहमतिमा आउनुको कुनै विकल्प नभएको बताउनु भएको छ ।
आज नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले दलीय सहमति नबन्दा सम्म बिचार र दृष्टिकोण फरक राख्नु स्वभाविक नै भएको र दलीय सहमति बनेपछि संविधान कार्यान्वयनमा एमाले गम्भिर बन्ने विश्वास व्यक्त गर्नुभयो । जारी भएको संविधान कार्यान्वयन गर्ने दायित्व सरकारको भएको बताउँदै संविधान जारी गर्दाका सहयात्रीले पनि आफ्नो दायित्व भुल्न नुहुने उहाँले स्मरण गराउनु भयो ।
संविधान कार्यान्वयनकालागि स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन गर्नु अपरिहार्य रहेको बताउँदै उहाँले त्योसंगै सिमाङ्कन टुङ्ग्याउने काम पनि रहेको स्मरण गर्नुभयो । यी सबै काममा प्रतिपक्षमा रहेको एमालेको पनि उत्तिकै भूमिका रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले संविधान कार्यान्वयनकालागि सहमतिमा नआउने हो भने परिवर्तनबाट प्राप्त उपलब्धि पनि गुम्ने र सबै एउटै डुङ्गामा डुब्ने बताउनु भयो ।
मुलुकमा व्याप्त कालोबजारी र मुल्यबृद्धिलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषमा सरकार गम्भिर भएको बताउँदै सरकारले कालोबजारी गर्नेलाई तत्काल कारवाहीको दायरामा ल्याउन सरकारले रणनीति बनाएको उल्लेख गर्नुभयो । संविधान कार्यान्वयनकालागि सरकारले एमाले तथा मधेशकेन्द्रित दलहरुसंग छलफल गरिरहेको बताउँदै मुलुकको राष्ट्रिय हितका लागि उनीहरु सहमतिमा आउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तैगरी पत्रकारको जिज्ञासामा उहाँले आफूले मन्त्रालय सम्हालेपछि ५ वर्ष भित्रमा काठ आयातलाई प्रतिस्थापन गर्ने गरी नीति बनाउन मातहतका निकायलाई निर्देशन दिएको बताउनु भयो । एकातिर बनमा रहेका काठ लिलाम हुन नसक्ने र कुहेर खेर जाने तथा अर्कोतिर न्यूनस्तरका काठ आयातमा अर्बाै रुपैंया खर्च भईरहेकाले बन पैदावारमा आत्मनिर्भर बन्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन गरेको बताउनु भयो ।
कार्यक्रम युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्व र सचिव कबिन्द्र नेपालको सञ्चालनमा भएको थियो ।