‘बुद्धिजिबी पलायन हुँदा गाउँ ओझेलमा’

657

‘बुद्धिजिबी पलायन हुँदा गाउँ ओझेलमा’

बुटवल, ८ बैशाख । युवा तथा शिक्षित जनशक्ति पलायन हुनेक्रमले पहाडी तथा ग्रामिण क्षेत्र बिकासमा पछाडी परेको आइतबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । पहाडी ग्रामिण क्षेत्रका पढेलेखेका शिक्षित व्यक्तिहरु शहर बजार पलायन हुँदा ती ठाउँका ऐतिहासिक क्षेत्रहरुको बारेमा समेत बोल्ने र लेख्ने मान्छे नहुँदा ती स्थानसमेत ओझेलमा परेको उनीहरुले बताए ।

पाल्पाको रिब्दीकोट (ठिमुरे) रुपन्देही सम्पर्क समाजले आईतबार बुटवलमा आयोजना गरेको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो औंल्याएका हुन् । कार्यक्रममा बोल्दै पाल्पा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बढेलेखेका शिक्षित व्यक्तिहरु शहरबजार पलायन हुँदा गाउँमा शुन्य भएको बताउनु भयो । उहाँले त्यसैका कारण रिब्दीकोट ऐतिहासिक क्षेत्र भएपनि ओझेलमा परेको बताउनु भयो ।

अध्यक्ष जिसीले गाउँपालिकाको बिकासकालागि आफू प्रतिवद्ध भएर लागेको बताउँदै सडक सञ्जालको बिकासमा आफू प्रयत्नशिल भएको उल्लेख गर्नुभयो । गाउँपालिकाका सबै क्षेत्रलाई समेट्ने गरी रिङ्रोड बनाउन सके गाउँपालिकाको बिकास हुने र पलायन हुने जनशक्तिलाई रोकि उत्पादनशिल काममा लगाउन सकिने बताउँदै त्यसकालागि सबैको प्रयास आवश्यक भएको बताउनु भयो ।

त्यस्तै पाल्पाली समाज रुपन्देहीका अध्यक्ष पदमबहादुर कार्कीले समाजले पुरानो आफ्नो स्थानको पहिचान जोगाउनकालागि प्रयास गर्नुपर्ने धारणा राख्नुभयो । सम्पर्क समाजका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका प्रमुख सल्लाहकार तिलकराम पौडेल, पाल्पा भैरवस्थान–रुपन्देही परिवारका अध्यक्ष केशव खनाल, ख्याहा रुपन्देही सम्पर्क समाजका अध्यक्ष तुलसी पराजुली, जलेश्वर भवानी संगमका शंकर ज्ञवाली, भैरव युवा समाजका सचिव धनु रायमाझी, आयोजक समाजका कोषाध्यक्ष शंकर ढकाल, सहसचिव मधु ढकाल लगायतले भनाई राख्नुभएको थियो ।