दीपमा शिक्षक, बिद्यार्थी तथा अभिभावक सम्मानित

992

दीपमा शिक्षक, बिद्यार्थी तथा अभिभावक सम्मानित

बुटवल, ४ वैशाख । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्मान गरेको छ । बुधबार बिद्यालयमा आयोजित कार्यक्रममा विद्यालयले बुटवल उपमहानगरपालिका शिक्षा महाशाखाले २०७५ मा लिएको आधारभूत तह उत्तीर्ण परीक्षामा जी.पी.ए ४ अङ्क ल्याउने दीप बोर्डिङ हाई स्कूलकी छात्रा शर्मिला पन्थी लगायत उत्कृष्ट जी.पी.ए. हासिल गर्ने विद्यार्थीलाई टीका र प्रमाणपत्र तथा उत्कृष्ट १० बिद्यार्थीका अभिभावकलाई खादाद्वारा सम्मान गरेको थियो ।

सोही कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन निरन्तर अध्यापनमा खटिएका १४ जना शिक्षक शिक्षिकालाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्राचार्य टीकाराम न्यौपानेले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई ज्ञापन गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ढोँजूले कुशल व्यवस्थापन सहित अब्बल नतिजाका लागि आ–आफ्नो क्षेत्रबाट खटिएका विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

बिद्यालय व्यबस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाईं, उपप्राचार्य द्वय ज्ञानु थापा, कलाधर अर्याल, कक्षा ९ र १० का संयोजक के.बी. खाम्चा, ७ र ८ का संयोजक कृष्ण भुसालको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक द्वय पुरुषोत्तम पाण्डेय र दिनेश खड्काले संयुक्त रूपमा गर्नुभएको थियो ।