नयाँगाउँमा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र शुभारम्भ

1K

नयाँगाउँमा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र शुभारम्भ

बुटवल, ६ भदौ । बुटवल उप–महानगरपालिका वडा नं. १२ नयाँगाउँ मिलनपार्क टोलमा सहरी स्वास्थ्य प्रर्वद्धन केन्दको सुभारम्भ गरिएको छ । पूर्वाधार विकास, प्रविधि तथा उपकरणको विस्तार र स्वास्थ्य सेवा विस्तारको कार्यक्रमलाई उपमहानगरले एकसाथ सुरु गरेको छ । एक तले भवनमा अर्को तला थपेर अत्याधुनिक प्रविधिको ल्याबसहितको स्वास्थ्य सुविधा उपलव्ध गराउने गरी सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

बुधबार उक्त स्वास्थ्य प्रवद्र्धन केन्द्रको शुभारम्भ गर्दै उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जनस्वास्थ्यको संवेदनशिलताका विषयमा आफुहरु गम्भीर रहेको भन्दै स्वास्थ्य सचेतना र निरोगिताका उपायहरुका बारेमा पनि सेवा प्रवाह गर्नेगरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।

प्रमुख सुवेदीले भरपर्दो र प्रभावकारी स्वास्थ्य संस्थाका रुपमा समुदायको मन जितेर काम गर्न मेडिकल अफिसरसहितको स्वास्थ्यकर्मीहरुको टोलीलाई निर्देशन दिनुभयो । उक्त केन्द्रमा बहिरंग सेवा, आयुर्वेद सेवा, वातावरणीय स्वास्थ्य प्रवद्र्धन, नसर्ने रोगहरुको व्यवस्थापन, ल्याब सेवा, स्वास्थ्य शिक्षा प्रवद्र्धन, मातृ तथा शिशु स्वास्थ्य सेवाहरु उपलव्ध हुनेछन् । डा. राजिव केसीको नेतृत्वमा १० स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने छन् ।

कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्यले समुदायलाई सहज र सुलभ स्वास्थ्य सुविधा उपलव्ध गराउने गरी सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा ल्याइएको उल्लेख गर्नुभयो । स्वास्थ्यचौकीका अध्यक्ष तथा वडा नं. १२ का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विभिन्न प्रकारका स्वास्थ्य सेवा र सचेतनाको अभियानसहितको सुविधाले समुदायमा एक प्रकारको खुशी ल्याएको बताउनुभयो । स्थानीय अगुवा गुरुप्रसाद शर्माले स्वास्थ्यचौकीमा प्राथमिक उपचारका साथै विभिन्न प्रकारको प्राथमिक ल्याब परीक्षणको समेत सुविधा सुरु भएपछि वडावासी लाभान्वित हुने बताउनुभयो ।

उक्त स्वास्थ्य चौकीमा अल्ट्रा साउण्ड, एक्सरे सुविधासहित, हेमो ग्लोबिन, रक्त समूह, सीबीसी, सुगर, यूरिक एसिड, पाचन प्रक्रियाको अवस्था (बिलीरुविन), (इन्जाइमको अवस्था) क्रिटीनाइन, यूरिया, लिपिड प्रोफाइल, आरए फ्याक्टर, एचबीएफएजी, (रक्तकोषको गणना) को परीक्षण गर्ने व्यवस्था छ । यस्तै एएनसी प्याकेज, वीडल, यूरिन आरई÷एमई, स्टूल आरई÷एमइ, गर्भवती जाँच, (रगतजन्य रोगको परीक्षण) भीडीआरएल,(यौनरोग) टीपीएचए, क्षयरोग(एएफबी) र मलेरियासम्बन्धी परीक्षण हुने उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डा.रमेश केसीले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरले एकीकृत जनस्वास्थ्य अभियानअन्तर्गत वडाका टोलहरुमा निःशुल्क स्वास्थ्य शिविर र ज्येष्ठ नागरिकहरुका लागि घरमै पुगेर स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ ।