जम्मेहलाई पद त्याग्न अल्टिमेटम

503

जम्मेहलाई पद त्याग्न अल्टिमेटम

डाकार (सेनेगल), ७ माघ । गाम्बियाको राष्ट्रपतिय निर्वाचनमा पराजित भएर पनि पद नछोडेका याहया जम्मेहलाई पश्चिम अफ्रिकी क्षेत्रीय आर्थिक समूह इकोवासले शान्तिपूर्ण रुपले पद त्याग गर्न अन्तिम चेतावनी दिएको छ ।

चुनावमा पराजित भए पनि जम्मेहले पद नत्यागेपछि इकोवासले शुक्रबार सम्ममा पद त्याग्न अल्टिमेटम दिएको हो । गत महिनाको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका अदाम बर्रोले आफ्नै देशमा शपथ लिन नपाएपछि बिहीबार सेनेगलको राजधानी डाकारस्थित गाम्बियाको दूतावासमा शपथ लिनुभएको छ ।

शपथ लिएपछि इकोवासका पदाधिकारीले गाम्बियाको अहिलेको आधिकारिक राष्ट्रप्रमुख बर्रो नै भएको दाबी गरेका छन् । गाम्बियाको तेस्रो राष्ट्रप्रमुखका रुपमा उनीहरुले बर्रोलाई घोषणा गरेका छन् । गाम्बियामा यसअघि डावडा र जाम्मेह राष्ट्रप्रमुख हुनुभएको उनीहरुको भनाइ छ ।

शपथ लिएपछि पहिलोपटक राष्ट्रपतिका रुपमा सम्बोधन गर्दै बर्रोले आफूलाई निर्वाचित गरेकामा जनतालाई धन्यवाद दिनुभएको छ भने राष्ट्रिय एकताका लागि आह्वान गर्नुभएको छ । उहाँले जम्मेहलाई जनमत र संविधानको सम्मान गर्न र अशान्तिको बीउ नरोप्न पनि आग्रह गर्नुभएको छ ।

इकोवासले जाम्मेहले तोकिएको समयभित्र पद छाड्न नमाने बल प्रयोग गरेर पनि हटाउने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले इकोवासलाई आफ्नो समर्थन दिए पनि पहिला राजनीतिक समाधानकै प्रयास हुनुपर्नेमा जोड दिएको छ ।

पश्चिमी अफ्रिकी मुलुक गाम्बियामा विगत २२ वर्षदेखि शासन गर्दै आउनुभएका जम्मेहले पराजय नस्वीकार्दा राजनीतिक सङ्कट पैदा भएको छ । रासस/सिन्ह्वा