लाईफ एजुकेशनको लाईफ चेन्जिङ् ट्रेनिङ् सम्पन्न

643

लाईफ एजुकेशनको लाईफ चेन्जिङ् ट्रेनिङ् सम्पन्न

बुटवल, ८ जेठ । बुटवलमा सञ्चालित एक महिने लाईफ चेन्जिङ्ग ट्रेनिङ सम्पन्न भएको छ । लाईफ एजुकेशनको आयोजनामा भएको तालिममा एसइइ दिएर बसेका २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुमा सकारात्मक सोचको विकास गराउने उद्देश्यका साथ आयोजित तालिममा विभिन्न क्रियाकलापहरुको माध्यमबाट प्रयोगात्मक तालिम प्रदान गरिएको थियो ।

तालिममा जीवन जिउने कला, वाककला, नेतृत्व विकास, स्टेज उदघोषण लगायतका विषयहरु समेटिएको थियो । तालिम समापन समारोहमा बोल्दै सनराईज बैंकका प्रदेश नं ५ प्रमुख राजेन्द्र घिमिरेले फुसर्दको समयमा रहेका विद्यार्थीहरुले जीवनको लक्ष्य निर्धारण गर्न र सकारात्मक बाटोमा हिड्नका लागि तालिमले अभिप्रेरित गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै लाईफ एजुकेशनमा प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख प्रशिक्षक दिनेश खड्काले विद्यालय र विश्व विद्यालयका शिक्षाले समेट्न नसकेका कुराहरु तालिममा सिक्न सकिने भन्दै पहिला आफूले आफ्नो क्षमता चिन्न सकेमा लक्ष्य निर्धारण गर्न र आफूले चाहेको सफलता पाउन सकिने बताउनुभयो ।

लाईफ एजुकेशनका प्रबन्ध निर्देशक तेजराज थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रशिक्षक माधव पौडेल, अभिभावक लक्ष्मी के.सी., विद्यार्थीहरु सिद्धार्थ झा, नारायण पाण्डे, करुणा भण्डारी, धिरज क्षत्री लगायतले तालिममा संगालेका अनुभवहरु सुनाएका थिए । प्रशिक्षार्थीहरु संगम खड्का र प्रशस्त मिश्रको सञ्चालन तथा सुमांसी खत्रीको स्वागतमा भएको कार्यक्रममा प्रशिक्षार्थीलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो भने गायन तथा नृत्य कार्यक्रम समेत गरिएको थियो ।