तेस्रो अधिवेशनको पहिलो बैठक बस्दै : दुई विधेयक पेश गर्ने कार्यसूची

316

तेस्रो अधिवेशनको पहिलो बैठक बस्दै : दुई विधेयक पेश गर्ने कार्यसूची

बुटवल, २५ मंसिर । प्रदेश पाँच प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक बुधबार बस्दैछ । प्रदेश सभाको दोस्रो अधिवेशन सकिएको करिव ४ महिनामा तेस्रो अधिवेशनको बैठक बस्न लागेको हो ।

कानुन निर्माणमा केन्द्रित हुने अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ । त्यसमध्ये ४ वटा विधेयक प्रदेश सभामा दर्ता गरिसकेको छ । बुधबार बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा प्रदेश नं. ५ जाँचबुझ आोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक र प्रदेश नं. ५ संघसंस्थाहरुको दर्ता सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक गरी दुई विधेयक सम्बन्धित मन्त्रीहरुले पेस गर्ने कार्यसूचि तय भएको छ ।

त्यस्तै बैठकमा विशेषाधिकार समितिको सभापति र प्रदेश नं. ५ को नामाकरण तथा स्थायी राजधानी विशेष समितिको संयोजक चयनबारे सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराउनु हुनेछ । त्यस्तै बैठकमा प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धि विशेष समितिको प्रतिवेदन बुझाउने समय थप गरिएको जानकारी गराउने कार्यसूचि रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी गराउनु भयो ।

एक बजे बस्ने बैठकको सुरुमै प्रदेश प्रमुख उमाकान्त झाबाट प्रदेश सभा आह्वान भएको पत्र सभामुख घर्तीले पढेर सुनाउनु हुनेछ । लगत्तै दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धि पत्रहरु पढेर सुनाउने कार्यसूचि छ । त्यस्तै दलीय प्रतिनीधित्व हुनेगरी प्रदेश सभा सदस्यहरुले भनाई राख्नुहुनेछ ।