स्टार लेवलका होटलमा लगानी गर्नुपर्नेमा जोड

347

स्टार लेवलका होटलमा लगानी गर्नुपर्नेमा जोड

बुटवल, २५ जेठ । प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा पूर्वाधार निर्माणसंगै बिकासले उच्च गति लिएकाले यस क्षेत्रमा भएका होटलको स्तर बृद्धि गर्नुपर्ने तथा ठूला होटलमा लगानी बढाउनु पर्ने शनिबार बुटवलमा भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले औंल्याएका छन् ।

भैरहवामा निर्माणधिन अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न भएपछि विश्वको पर्यटनको केन्द्र रुपन्देही बन्ने र बुटवलमा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माण सम्पन्न भए पश्चात यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम समेत हुने भएकाले स्टार लेवलका होटलमा लगानी अवको पहिलो प्राथमिकता हुनु पर्ने उनीहरुले औंल्याए । होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ बुटवलको शनिबार बुटवलमा भएको १९ औं साधारण सभामा बोल्ने वक्ताहरुले व्यबसायीले व्यबसायिक मर्यादा पालना गर्न समेत सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले विमानस्थल र अन्तर्राष्ट्रिय सभाहल निर्माण सम्पन्न भएपछि विश्वका पर्यटकको केन्द्र पनि रुपन्देही बन्ने र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम समेत बुटवलमै हुने भएकाले त्यतिवेलालाई मध्येनजर गरेर स्टार लेवलका होटलमा लगानी गर्न अपरिहार्य रहेको बताउनु भयो । उहाँले ठूलो होटलमा पुँजी ठूलो लाग्छ, एक्लैले लगानी गर्न नसकिन सक्छ भन्दै सबै व्यबसायीको लगानी हुनेगरी सहकारीका माध्यमबाट ठूला होटलमा लगानी गर्न समेत सुझाव दिनुभयो ।

त्यस्तै होटल व्यबसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले जमिनका कारण ठूला होटलमा लगानी ठूलो भएका कारण सरकारले जग्गा व्यबस्थापन गरेर लिजमा दिने हो भने स्टार लेवलका होटल सञ्चालनकालागि व्यबसायी तयार रहेको बताउनु भयो । उहाँले बुटवलको कालिका मन्दिरदेखि योगिकुटी सम्मको भित्री बाटो होटलको हवको रुपमा बिकास भएकाले उक्त सडकलाई सुधार गर्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै होटल तथा रेष्टुरेन्ट व्यबसायी महासंघका प्रदेश अध्यक्ष भास्कर काफ्लेले होटल व्यबसायीले व्यबसायिक मर्यादा कायम राख्नुपर्ने र समयसापेक्ष रुपमा सेवामा सुधार गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले सरकारले पर्यटनलाई मुलुकको बिकासको पहिलो आधारको रुपमा लिएपनि यस क्षेत्रको बिकासकालागि बजेट विनियोजनमा कन्जुस्याईँ गरेको बताउनु भयो । साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ बुटवलका अध्यक्ष समुन्द्र जिसीले पछिल्लो समयमा होटल व्यबसायमा लगानी बढेपनि प्रष्ट नीतिको अभाव र भएको नीति पनि सहि रुपमा कार्यान्वयन नहुँदा लगानीमा चुनौती थपिएको बताउनु भयो ।

कार्यक्रममा नेकपा बुटवलका अध्यक्ष बाबुराम पन्थी, संघका निवर्तमान अध्यक्ष मोदनाथ वेलवासे, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, महासंघका प्रदेश उपाध्यक्ष महेन्द्र श्रेष्ठ, होटल व्यबसायी संगठन सिद्धार्थनगरका लिलाधर भट्टराई, सम्मानित पत्रकार डायलसन अधिकारी, पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष निरु गौतम, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ लगायतले पर्यटन बिकासको प्रमुख आधार होटल व्यबसायी भएकाले होटल व्यबसायमा आउने पाहुनाकालागि नम्र तथा सिष्ट बोली व्यबहार आवश्यक रहेको र अव टुरिष्ट गाईडको समेत व्यबस्था गरि लुम्बिनी सहितका टुर प्याकेज बनाएर पर्यटकलाई केही दिन बुटवलमा भुलाउने वातावरण बनाउनु पर्ने भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन संघका महासचिव माधवकुमार खनालले गर्नुभएको थियो ।