पुलिसका क्याप्टेन रविनको आत्मघाती गोल, तिलोत्तमा गोल्ड कपको उपाधी थ्रि स्टारलाई

687

पुलिसका क्याप्टेन रविनको आत्मघाती गोल, तिलोत्तमा गोल्ड कपको उपाधी थ्रि स्टारलाई

बुटवल, ३ फागुन । २० औं तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगिताको उपाधी थ्रि स्टार फूटवल क्लवले चुमेको छ । शनिबार बुटवलको देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा विभागीय नेपाल पुलिस क्लवसंगको फाईनल प्रतिस्पर्धामा २ शुन्य गोल अन्तरले थ्रि स्टारले उपाधी चुमेको हो ।

प्रतियोगिताको ६६ औं मिनेटमा नेपाल पुलिस क्लवका क्याप्टेन रविन श्रेष्ठको आत्मघाती गोल र दुई पटक सम्मका राम्रा अवसरमा पुलिसका खेलाडी चुक्दा उपाधी विपक्षि थ्रि स्टारको पोल्टामा गएको हो । पुलिस क्लवका क्याप्टेन श्रेष्ठको आत्मघाती गोलसंगै ७९ औं मिनेटमा थ्रि स्टारका क्याप्टेन निराजन खड्काको प्रहारले जाली चुमाई थ्रि स्टारलाई जितकालागि फराकिलो अग्रता दिलाएका थिए । बाँकी समयमा नेपाल पुलिसले कुनै पनि गोल गर्न नसकेपछि थ्रि स्टारकालागि २ शुन्यको अग्रता नै जितमा परिणत भएको हो ।

तिव्र प्रतिस्पर्धाका बिच भएको फाईनल प्रतियोगितामा पुलिसका क्याप्टेन श्रेष्ठको आत्मघाती गोलसंगै दवावमा परेको पुलिसले अन्ततः दवावकै विच उपविजेतामा समेटिन पुग्यो । २०३३ सालमा तत्कालिन बुटवल नगरपालिकाले स्थापना गरेको तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगितामा ४ वटा संस्करणमा विजेता भएको पुलिस क्लवलाई २० औं संस्करणमा उपविजेतामा समेट्दै थ्रि स्टाले पहिलो पटक उपाधि हात पारेको हो । तिलोत्तमा गोल्ड कपको गत वर्ष भएको १९ औं संस्करणको उपाधी संकटा क्लव काठमाण्डौले जितेको थियो ।

२० औं तिलोत्तमा गोल्ड कपको उपाधिसंगै थ्रि स्टारले ७ लाख ७७ हजार ७७७ रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेतामा समेटिएको नेपाल पुलिस क्लवले ४ लाख ४४ हजार ४४४ रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा थ्रि स्टारका क्याप्टेन निराजन खड्का उत्कृष्ट खेलाडी घोषित हुँदै होण्डा कम्पनीको स्कुटी तथा २१ हजार १११ रुपैंया नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट स्टाईगर नेपाल पुलिसका रेजिन सुब्बा, उत्कृष्ट मिडफिल्डर नेपाल पुलिसकै भोला सिलवाल, उत्कृष्ट डिफेन्स आयोजक रुपन्देही ११ का पूर्णबहादुर श्रेष्ठ, उत्कृष्ट गोल रक्षक थ्रि स्टारका गोलकिप्पर एलन न्यौपाने तथा उत्कृष्ट कोच थ्रि स्टारका प्रशिक्षक मेघराज केसी भएका छन् । उनीहरुलाई जनही २१ हजार १११ रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको प्रतियोगितामा रहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । प्रतियोगिता आयोजक जिल्ला फूटवल संघ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसीले पाँच नम्बर प्रदेशकै नमुनाका रुपमा रहेको फिफा टेक्निकल सेन्टरको खेल मैदानको पूर्व पट्टि प्याराफिट नहुँदा प्रतियोगिता सञ्चालन गर्दै अस्थायी प्याराफिट बनाईरहनु पर्ने समस्या रहेकाले बुटवल उपमहानगरपालिकालाई स्थायी प्याराफिट निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजक यशोदा फुड्स पा.लि.का प्रवन्ध सञ्चालक नरिश्वर पौडेलले एउटा स्थापित प्रतियोगितामा रहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै खेलाडीको प्रगति र प्रतियोगिताको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै बुटवल उद्योग बाणिज्य संघका सदस्य अनुपमान सैंजुले तिलोत्तमा गोल्ड कप फूटवल एउटा आकर्षक प्रतियोगिताको रुपमा स्थापित भएको बताउँदै यसको साखलाई अझै माथि उठाउनु पर्ने कुरामा जोड दिनुभयो ।