यात्रामा असहज भए प्रहरीलाई फोन गर्नुहोस्

561

यात्रामा असहज भए प्रहरीलाई फोन गर्नुहोस्

बुटवल, २७ भदौ । नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरेर नेपाल प्रहरीले बुटवलको नयाँ बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वहरु दशै, तिहार र छटका बेला यात्रुहरुलाई सुरक्षित यात्राको आभास दिलाउन जिल्ला प्रहरी कार्यालय रुपन्देही, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरले नागरिक सहायता कक्षा स्थापना गरि सञ्चालन गरिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभयो ।

दसै तिहारका बेला बुटवल वसपार्क भएर हजारौ यात्रुहरु चाडपर्व मनाउन आ–आफ्ना घर जाने र यो समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने र यात्रुहरुले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने कुटिने समेतका घटनालाई मध्येनजर गरेर नागरिक सहायता कक्ष स्थापन गरिएको हो ।

नागरिक सहायता कक्षको मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गर्दै यातायात व्यबस्था कार्यालय बुटवलका प्रमुख उपसचिव चेतप्रसाद उप्रेतीले सरकार र व्यबसायी बिच विश्वासको वातावरण नहुँदा यात्रुले सास्ती खेप्नु परेको बताउनु भयो । उहाँले व्यबसायीले दिएको सेवाबाट ९० प्रतिशत यात्रु सन्तुष्ट हुन नसकेको बताउँदै व्यबसायलाई चुस्त र सुरक्षित बनाउन व्यबसायीलाई आग्रह गर्नुभयो ।

जनचाहना अनुसार सेवा प्रवाह गरि यात्रुको मन जित्नकालागि सवारीका स्टाफहरुले बोलिचाली, व्यबहार र आचरण सुधार गर्न उहाँले सुझाव दिनुभयो । त्यस्तै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले नागरिक सहायता कक्ष स्थापनाकालागि स्थापना नभई उद्देश्यपरक रुपमा काम गर्न आफूहरु तयार रहेको र सोही उद्देश्य अनुसार काम गर्न व्यबसायीलाई आग्रह गर्नुभयो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक पवनकुमार भट्टराईले प्रहरीले बर्दि निकालेर यात्रा गर्दा यात्रुलाई सारै दुःख हुने महसुस गरि सात वर्ष अंगाडी २०६८ सालमा कन्सेप्ट बिकास गरि प्रत्येक वर्ष यात्रु सहायता कक्ष सञ्चालन गर्दै आएको बताउनु भयो ।

उहाँले अवका दिनमा यात्रुले फरक महसुस गर्नुपर्ने बताउँदै एउटै सिटमा दोहोरो टिकट नकाट्न, क्षमता भन्दा बढी यात्रु नबोक्न व्यबसायीलाई आग्रह गर्नुभयो । यात्रुलाई त्यस्तो कुनै समस्या परे तुरुन्तै प्रहरीलाई फोन गर्न पनि प्रनाउ भट्टराईले आग्रह गर्नुभयो ।

चाड पर्वका बेला हुनसक्ने आपराधिक कृयाकलाप नियन्त्रण, लागुऔषध नियन्त्रण तथा सवारी साधनको अस्वस्थ प्रतिष्प्रधालाई रोकेर सरल सहज यात्राकालागि पनि नागरिक सहायता कक्षवाट काम हुनेछ ।

उक्त नागरिक सहायता कक्षमा २४ सै घण्टा नेपाल प्रहरी तथा ट्राफिक प्रहरी परिचालन हुनेछन् । नागरिक सहायता कक्षमा यात्रु नठगिउन भनेर सवारी साधनको भाडा दरको नागरिक वडा पत्र समेत राखिएको छ ।

नागरिक सहायता कक्षको उद्घाटन कार्यक्रममा पश्चिम नेपाल बस व्यबसायी समितिका वरिष्ठ उपाध्यक्ष नारयाणप्रसाद घिमिरेले यात्रुको सहज र सुरक्षित यात्राकालागि पश्चिम नेपाल बस समिति तयार रहेको बताउँदै आवश्यकता अनुसार सवारी साधन सञ्चालन गर्ने जानकारी गराउनु भयो ।

त्यस्तै पूर्व अध्यक्ष कृष्णप्रसाद न्यौपानेले सवारी साधन प्रयाप्त भएपनि चालकको अप्रयाप्तताका कारण चाहेजति सवारी साधन सञ्चालन गर्न समस्या हुने उल्लेख गर्दै समितिले बढी भन्दा बढी सवारी सञ्चालन गर्ने बताउनु भयो । कार्यक्रममा समितिका महासचिव जिवनकुमार वञ्जाडे, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे लगायतले भनाई राखेका थिए ।