मुलुकको ३८ औं प्रधामन्त्रीको निर्वाचनको बिषयलाई लिएर धेरै चर्चा परिचर्चा भए । अदृश्य शक्तिका नाममा धेरैले सत्तोसराप गरे तर शंका गरे अनुरुपको परिणाम नदेखेपछि सत्तोसराप गर्नेहरु नतमस्तक भएका छन । जसले सत्तोसराप गरे तीनिहरु लोकतन्त्रका पक्षधर भन्दा बढी बिरोधी जस्तो देखिए । चाहे त्यो सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरु हुन, चाहे आफुलाई सच्चा राष्ट्रवादी भन्नेहरु हुन, चाहे अहिलेको सत्ता गठबन्धनधारी दलका शिर्ष नेता हुन । ति सबैले जनतामा भ्रम सिर्जना गराए की अव त न मुलक रहने भो, न कांग्रेस नै, सबै भारततीर भन्ने जस्ता अति तुच्छ तिप्पणी आए ।
२०४६ सालको परिवर्तन पछिका दिनमा आफूलाई कम्युनिष्ट भन्ने दलका नेता तथा कार्यकर्ताहरुले गाउँ गाउँमा गएर यस्तै अतिरञ्जित गर्ने खालका टिप्पणी गर्थे । उनीहरु बोलिपिच्छे भारतीय बिस्तारवाद, अमेरिकी साम्राज्यवाद, दरवारीया जस्ता शब्दको भ्रम फिजाएर कांग्रेसलाई तथानाम गालीगलौच गर्थे । अहिले ठ्याक्कै त्यस्तै गरी आम सञ्चारका माध्यम र बिभिन्न खाले सामाजिक सञ्जालमा टिप्पणीहरु आए । २००३ सालदेखि निरन्तर जनताको पक्षमा संघर्ष गर्दै आएका नेता कार्यकर्ताले भरिएको मुलुकको ठूलो पार्टी पनि हो कांग्रेस । तसर्थ जनताले धेरै आशा र भरोशा गरेका हुन्छन । त्यसै अनुरुप अंघि बढ्नु नेतृत्वको दायित्व हो । तर कुनै दलको नेतृत्व स्वीकार नगर्दा बित्तिकै एकाएक राष्ट्रघातिको संज्ञा दिएर टिप्पणी गर्नुले कसैको पनि उचाई बढाउँदैन ।
लोकतन्त्रको सौन्दर्य भनेकै प्रतिस्पर्धा हो । संसदीय व्यबस्थामा प्रतिपक्ष अपरिहार्य हुन्छ । त्यसैले संभव भएसम्म सत्ताको नेतृत्व गर्नु पहिलो दलको दायित्व हुन्छ । त्यो हुन नसके प्रतिपक्षमा बस्ने दायित्व पनि उसैको हो । संविधान नबन्दा सम्म सहमति अपरिहार्य थियो । जसलाई कांग्रेसकै नेतृत्वमा पार लगाईएको छ । अब त संविधान सभा संसदमा परिणत हुँदाको अवस्थामा बहुमत र अल्पमतको खेल हुन्छ । जुन लोकतन्त्रमा भइ नै रहन्छ र भइरहनु पनि पर्दछ । लोकतन्त्र भनेकै बहुमतले सत्ता सञ्चालन गर्ने र अल्पमतले प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो । ३८ औं प्रधानमन्त्रीको निर्वाचनकालागि पनि केपी ओली र शुशिल कोईरालाकाबीच त्यहि नै भएको हो । तर कोईरालाको उमेद्वारीलाई भारतसंग जोड्ने र मधेशमा भईरहेको आन्दोलनलाई राष्ट्र घातको रुपमा जोडेर हेर्ने काम गरियो र मधेशी मोर्चाले कोईरालाको पक्षमा मत दिनुपनि राष्ट्रघातीहरुको मिलन हो भन्ने जस्ता कुप्रचार गरियो । त्यसले लोकतन्त्रलाई मजबुद नभई कमजोर बनाउने सिवाय अरु केही गर्दैन ।
ओलीको नेतृत्वमा जसजसले गठबन्धन गरेका छन, तीनिहरुको पृष्ठभूमि र विगत हेर्दा स्प्रष्ट हुन्छ की–यो खिचडी गठबन्धन हो । जसमा लोकतन्त्रलाई प्राथमिकता दिने भन्दा निरंकुशतालाई प्राथमिकतामा राख्नेहरुको बाहुल्यता छ । जसले लोकतन्त्रलाई थला पार्ने निश्चित जस्तै छ । लोकतन्त्रमा आलोपालो भन्दा पनि प्रतिस्पर्धालाई जोड दिईन्छ । अहिलेको प्रतिस्पर्धा पनि त्यसकै एउटा नमुना हो । संस्थागत निर्णय बिनै एमाओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली, नेपाली कांग्रेस सभापति कोईराला बिचमा पदको भागबण्डा गरिएको भन्ने ढ्वाङ प्रचण्ड र ओलीले एकतर्फी रुपमा बजाउनु पनि लोकतन्त्रलाई कमजोर बनाउने खेल बाहेक अरु केही हुन सक्दैन । यस्तो ढ्वाङ् बजाउने प्रचण्ड र ओली तत्कालकालागि सफल भए, सत्ता पनि हात पारे । कांग्रेसका केही नेतालाई केहीबेर मोहनी पनि लगाए र करिव २४ घण्टासम्म त कांग्रेसीजनमा गतिलैसंग भ्रम सृजना गर्नपनि सफल भए ।
भ्रमको खेती गरेर प्राप्त भएको सत्ताको व्यबस्थापन कसरी गर्ने ? भन्ने चुनौतीसंगै मधेशमा जारी आन्दोलनको व्यबस्थापन तथा भारतले अघोषित रुपमा नेपालमा लगाएको नाकाबन्दीको निकाश कसरी निकाल्ने भन्नेमा लाग्नुको सट्टा हरेक आन्दोलनको नेतृत्वकर्ता एउटा लोकतान्त्रिक दललाई सत्तोसराप गर्ने र त्यसको नेतृत्वलाई अर्कै कित्तामा देखाउन खोज्ने दुष्प्रयासले अन्ततः घात सत्ताको बागडोर सम्हाल्नेहरुलाई नै गर्छ । तसर्थ राष्ट्रियताको सवालमा बिना प्रमाण, हल्ला र आवेशको भरमा दल र नेतृत्वको चरित्र हत्या गर्न खोज्नु अतिवादी चिन्तन शिवाय केही होईन ।