
भैरहवा, २८ माघ । सरकार स्थानीय निकायको चुनावी तयारीमा लागेसंगै रुपन्देहीमा ३१ दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गर्नुका साथै चुनावी प्रचार अभियान थालेका छन् । संविधान र स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन कार्यान्वयनका निम्ती निर्वाचन कानुन ल्याएर जेठमा स्थानीय तहको चुनाव गर्न दलहरु सहमती भएका वेला जिल्लाका राजनैतिक दल पनि सोही अनुसारको तयारीमा जुटेका हुन् ।
दलका कार्यक्रमहरु स्थानिय स्तरमा जनपरिचालन, निर्वाचनका लागि तयारी, जिल्ला प्राविधिक सहयोग समितीले सिफारीश गरेको गाऊपालिका नगरपालिका अनुसार नै भएका छन् । दोस्रो संविधानसभा चुनाव भन्दा जिल्लामा नयाँ ९ वटा दल थप भई ३१ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख हुमनाथ गौतमले बताउनु भयो । संसदमा सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, तराई मधेश लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपाल, सदभावना पार्टी, नेकपा माओवादी केन्द्र, राप्रपालगायत ३१ दलले जिल्ला र केन्द्रीय कार्यालयको नाम ठेगाना सहित अध्यक्ष तथा पदाधिकारीहरु सम्पर्क विवरण पेस गरी दल दर्ता गरेका छन् ।
जिल्लामा क्रियाशिल भएर पनि विपल्व निकट नेकपा माओवादी र बैध निकट नेकपा क्रान्तिकारी माओवादीले भने जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरेका छैनन् । रुपन्देहीमा ६ वटा ठूला राजनैतिक दलहरु अहिलदेखि नै मतदाता आकर्षित गर्न आ–आफना पार्टी संगठनका कार्यकर्तामाझ चुनावी क्रियाकलापमा जुटेका छन् । स्थानीय तहको चुनावका निम्ति आफ्नो पार्टी पुरा तयारमा रहेको नेकपा एमाले जिल्ला कमीटी एवं सचिवालय सदस्य हितराज पन्थीले वताउनु भयो ।
‘चुनावको मिती तत्कालै घोषणा हुनुपर्छ । त्यसका लागि जिल्ला स्तरमा पार्टीको संरचना तयारीमा छ ।’ उहाँले भन्नुभयो–‘स्थानिय तहको पुन संरचना अनुसार र संविधान कार्यान्वयनमा आफूहरु जुटेकाले निर्वाचनमा जान कुनै समस्या छैन ।’ यसैगरी नेपाली काँग्रेस रुपन्देहीका सभापति एवं सभासद अव्दुल रजाकले मधेशी दलहरुसंगै मिलेर चुनावमा जान आफूहरु तयार रहेकोले सोही अनुसारको वातावरण वनाउन सरकारलाई आग्रह गर्नुभयो ।
संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष महेन्द्र यादवले मोर्चाको माग अनुसार संविधान संशोधन भए चुनावमा जान आफूहरुलाई कुनै आपती नरहेकाले त्यसका लागि मधेशवादी दलहरु भित्रभित्रै आफनो तयारी गरिरहेको उल्लेख गर्नुभयो । जिल्ला निर्वाचन कार्यालयले हालै संचालन गरेको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्ने क्रममा १६ हजार २ सय १९ जना मतदाता थप भएका छन् । कार्यालयले पुस १७ देखि माघ १८ गतेसम्म जिल्लाका एक सय ५२ स्थानमा १२ वटा टोली खटाएर मतदाता नामावली अध्यावधिक गरेको थियो ।
टोलीको काम सकिएपनि जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय मझगाव, बुटवल र जिल्ला निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावली संकलनको काम भईरहेको निर्वाचन कार्यालयले जनाएको छ । राजनैतिक विभाजनमा सात निर्वाचन क्षेत्र, ७ नगरपालिका र ९ गाउपालिका रहेको रुपन्देही जिल्लामा गत असोज मसान्तसम्म ४ लाख ६० हजार २ सय ५६ जना मतदाता थिए । जसमा अहिले १६ हजार २ सय १९ जना थप भएका हुन् । मृतकको नामावली कटौती र वसाई सराई तथा स्थानान्तरण गर्नेको शुद्धिकरण गर्ने काम केन्द्रीय निर्वाचन आयोगले गरिरहेको सूचना अधिकारी सुदिप पाण्डेले जानकारी दिनुभयो ।
गुल्मी निर्वाचन कार्यालयमा १४ दल दर्ता
सरकारले स्थानीय निर्वाचनको तयारी थाल्दै गर्दा गुल्मीमा १४ वटा राजनैतिक दलहरुले दल दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गुल्मीमा यसरी दल दर्ता गर्नेहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, ने.क.पा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, संङघीय समाजवादी पार्टी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेशन र नेपाल कम्यूनिष्ट पार्टी (माले–समाजवादी) लगायतका दलले सुची दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले बताउनु भयो ।
तीन वटा निर्वाचन क्षेत्रहरु रहेको गुल्मीमा १ लाख ७७ हजार ३ सय ७९ मतदाता रहेको सूचना अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिनु भयो । जिल्लामा क्षेत्र नं. १ मा ४६ हजार २ सय ४६, क्षेत्र नं २ मा ७१ हजार ६ सय ४६ र क्षेत्र नं ३ मा ५६ हजार ४ सय ६७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ ।
जिल्लामा अधिकांश दल दर्ता भए पनि मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादीले भने दल दर्ता गराएका छैनन् । दर्ताको लागी केन्द्रमा दल दर्ता भएको प्रमाणपत्र र जिल्लाको कार्यसमितिको विवरण सहित राजनीतिक दल दर्ताका लागि आयोगले सूचना जारि गरेको थियो ।