
बुटवल, २९ माघ । १४० औं लखन स्मृति दिवसमा सार्वजनिक विदा दिन माग गरिएको छ । जहानिया राणा शासनको विरुद्वमा आन्दोलन गर्दा लखन थापालाई मृत्यदण्ड दिइएको फागुन २ गते सार्वजनिक विदा दिन माग गरिएको छ ।
नेपाल मगर संघ रुपन्देही र प्रथम शहिद लखन थापामगर अक्षयकोक्ष २०५६ रुपन्देहीले संयुक्त पत्रकार सम्मेलन गरी प्रथम शहिद थापाको स्मृती दिवसमा सार्वजनिक विदा दिन माग गरिएको हो । थापालाई वि.सं. १९३३ फागुन २ गते गोर्खाको बुंगकोटमा राणा शासन विरुद्व विद्रोह गर्दा मृत्युदण्ड दिइएको थियो ।
थापालाई सरकारले संविधान घोषणा भएको दिन २०७२ असोज ३ गते प्रथम शहिद घोषणा गरिएको थियो । यसैबीच नेपाल मगर संघ रुपन्देही र प्रथम सहिद लखन थापामगर अक्षयकोष रुपन्देहीले संयुक्त रुपमा बुटवलमा लखन स्मृति दिवस मनाउने भएका छन् । दुई संस्थाले राजमार्ग चौराहामा रहेको लखन थापा मगरको शालिक परिषरमा समारोह गर्ने भएका हुन् । नेपाल मगर संघले आज बुटवलमा पत्रकार सम्मेलन गरि लखन स्मृति दिवस मनाउने बारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले नेपालका प्रथम सहिद लखन थापामगरनै भएकाले उनको सम्मानका लागि सरकारले फागुन २ गते सार्वजनिक विदा दिनु पर्ने बताउनुभयो । प्रचलनमा रहेको सहिद सप्ताहलाई फागुन २ गतेदेखि मनाउनु पर्ने उल्लेख गर्दै उपाध्यक्ष बिरकट्टा मगरले लखन थापाको जीवनीलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले मगर संघले लखनका बारेमा राखेका मागहरुलाई सम्मान तथा साझा माग पुरा नहुँदासम्म न्यायिक तथा शान्तिपुर्ण संघर्ष जारी रहने उल्लेख गर्नुभयो । कार्यक्रममा प्रथम सहिद लखन थापामगर अक्षयकोष रुपन्देहीका अध्यक्ष माथवरसिंह थापाले गएको सहिद सप्ताहमा प्रथम सहिद लखन थापाप्रति कुनै सम्मान नगरिएको टिप्पणि गर्दै त्यो आपत्ति जनक भएको बताउनुभयो । नेपाल मगर संघका अध्यष गिता सारु मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कमल थापाले गर्नु भएको थियो ।