बुटवल, कात्तिक नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले देश विकासका लागि वाम गठबन्धनको विकल्प नभएको बताएका छन् ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीले बिहीबार बुटवलमा आयोजना गरेको संयुक्त विद्यार्थी भेलालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उपमहासचिव पौडेलले मुलुकमा कम्युनिष्टले जितेर अधिनायकवाद ल्याउँछन् भनेर विपक्षी दलका नेताहरुको अभिव्यक्ति दुःखदायी भएको धारणा व्यक्त गरे ।
रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका पूर्वअर्थमन्त्री पौडेलले यस्ता खालका अभिव्यक्तिले विपक्षीलाई नै असर पुग्ने बताउँदै मुलुकको दिगो विकास र समृद्धिका लागि अब गठबन्धनका उम्मेदवारलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए ।
“यो गठबन्धन केवल निर्वाचनका लागि मात्र होइन, हाम्रो विचार र सिद्धान्त मिल्छ, त्यसैले निर्वाचनपछि दीर्घकालसम्म एकताबद्ध भएर देशलाई अग्रगति दिनका लागि भएको हो”–उनले भने –“निर्वाचनपछि सिङ्गो रुपन्देहीलाई विकासका दृष्टिले नमूनाका रूपमा अघि बढाइने छ ।”
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नम्बर २ प्रदेश १ का उम्मेदवार लिला गिरीले कांग्रेससँग जनताका बीचमा गई उभिएर भोट माग्ने कुनै एजेण्डा बाँकी नरहेको बताए ।
उनले आगामी मंसिरमा दुई तिहाईसहितको वामपन्थी सरकार बन्ने दावी गर्दै रुपन्देहीलाई विकासको नमुना बनाउन बाम गठबन्धनलाई मत दिन आग्रह गरे ।
रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा २ का उम्मेदवार भोजप्रसाद श्रेष्ठले वाम गठबन्धनले विपक्षीहरुको होस गुमिसकेको भन्दै कम्युनिष्टहरुका विरुद्ध अपवाह फैलाउनु बाहेक कांग्रेससँग कुनै एजेण्डा बाँकी नरहेको बताए । उनले कांग्रेसभन्दा बढी लोकतन्त्रवादी वामपन्थी भएको हजारौं दृष्टान्त दिन सकिने बताउँदै आफूले नैतिक पतन हुने कुनै काम नगरेको र विभिन्न विकासका योजना अगाडि सारेको भन्दै सही नेतृत्व चुन्न आग्रह गरे ।
विद्यार्थी भेलालाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य बामदेव क्षेत्री, निर्वाचन परिचालन कमिटीका संयोजक नेत्र पन्थी, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डे, दुवै विद्यार्थी संगठनका विभिन्न नेताहरुले पनि संबोधन गरेका थिए ।