लोप हुँदै गएको संकृती ‘भैरवनाच’ संरक्षणमा नेवार समुदाय

1.3K

लोप हुँदै गएको संकृती ‘भैरवनाच’ संरक्षणमा नेवार समुदाय

बुटवल २९ भदौ । अर्घाखाँची जिल्लाको नेवार समुदायको सांस्कृतिक ‘भैरव नाच’ मौलिक रुपमा प्रदर्शन गरिएको छ । ऐतिहासिक तथा मौलिक उक्त भैरवनाच लोप हुन लागेको र त्यसको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यले नेवार सम्पर्क समाज अर्घाखाँची–रुपन्देहीले बिभिन्न स्थानमा ऐतिहासिक भैरव नाच प्रदर्शन गर्दै आएको छ ।
यसै सन्दर्भमा समाज शनिबार बुटवल उपमहानगर पालिका वडा नं. १३ बेलबासमा भैरवनाच प्रदर्शन गरेको थियो । मौलिक रुपमा प्रदर्शन गरिएको भैरवनाच हेर्नकालागि सयौं सर्वसाधारण उपस्थित भएका थिए । आफूहरुको संस्कृति जगेर्ना गर्ने उद्देश्यले समाजले गत वर्षदेखि ऐतिहासिक भैरवनाच प्रदर्शन गर्न शुरु गरेको समाजका अध्यक्ष बाबुराम श्रेष्ठले बताउनु भयो ।
त्यस अवसरमा बोल्दै बुटवल १३ का वडा अध्यक्ष नारायणप्रसाद पुनले संस्कृतिको संरक्षणकालागि जुन समुदायको संस्कृति हो त्यही समुदाय अग्रसर हुनु पर्ने बताउनु भयो । त्यस्ता कला संस्कृतिको संरक्षण गर्ने दायित्व सरकारको समेत भएको उल्लेख गर्नुभयो ।
तान्त्रिक विधिसहित नाचिने भैरव नाच नेवार बाहुल्य समाजमा प्रचलित छ । नेवार समुदायको मौलिक नाचका रूपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि शुरू भयो त्यसको यकिन तथ्य नभए पनि पुस्तौंदेखिको भएको प्रचारप्रसार समितिका संयोजक देवीकुमार श्रेष्ठले बताउनु भयो ।
भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कात्तिके औंशीसम्म नाचिने समाजका सचिव दुर्गाप्रसाद श्रेष्ठले बताउनु भयो । भैरवलाई नेवार समुदायले आफ्नो इष्ट देवताका रूपमा पूजा गर्ने र तान्त्रिक विधिबाट नाच शुरू गरिने भएकाले नेवार समुदायमा भैरवको भाकल गर्ने प्रचलन छ ।
सन्तान प्राप्ति, कुनै ‘फल’ प्राप्ति वा लक्ष्य पूरा गर्न भैरवलाई बलीसहितको पूजा वा भेटी चढाउने परम्परा छ । उक्त ‘भैरव नाच’ आगामी असोज ३ गते काठमाण्डौमा प्रदर्शन गर्ने तयारी गरेको समाजका बाबुराम श्रेष्ठले बताउनु भयो ।