लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरुलाई ब्राण्डिङ् गर्न लुम्बिनीमा लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन गर्न लागिएको छ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा यहि फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन गर्न लागिएको हो ।
लुम्बिनी प्रदेश सभाबाट स्वीकृत भएको यो कार्यक्रम सञ्चालन गर्नको लागि नेपाल सरकार मन्त्री परिषदबाट पनि स्वीकृती प्राप्त गरी बालबालिका, विकास र शान्तिका लागि लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन गर्न लागिएको हो । सम्मेलनको सचिवालयमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सम्मेलनका निर्देशक डिल्लीबहादुर चौधरीले मलतः लुम्बिनीलाई ब्राण्डिङ गर्न यो सम्मेलन गर्न लागिएको बताउनु भयो ।
उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साथै लुम्बिनी प्रदेशको प्रतिष्ठा समेत अभिबृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यो शिखर सम्मेलनमा नेपालसंग दौत्य सम्बन्ध कायम भएका केही राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख वा पूर्वप्रमुख नोवेल शान्ति वा अन्य विधामा पुरस्कार विजेताहरु, संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख वा प्रतिनीधि, विश्वव्यापी व्यवसायिक नेताहरु, निर्णय निर्माता, विपन्नताबाट माथी उठेका अनुभवी युवाले बालबालिकाको समग्र हित, दीगो विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रवद्र्धन गर्नेछन् ।
त्यस्तै विश्वव्यापी रुपमै बुद्धका करुणा, अहिंसा र शान्तिको सन्देश प्रवाह गर्नेछ । त्यस्तै अन्तर्राष्ट्रियस्तरमा लुम्बिनी क्षेत्रको पहिचान अभिबृद्धि भई महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास हुने अपेक्षा गरिएको मुख्यमन्त्री चौधरीले बताउनु भयो । दुई दिने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २८ गते लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन गर्नुहुनेछ । कार्यक्रमको उद्घाटन पछि विभिन्न १० वटा समुहमा विषयगत छलफल गरी साझा धारणा तयार गरिने छ भने २९ गते दिउँसो साढे ३ बजे लुम्बिनीको मायादेवी मन्दिर परिसरमा सम्मेलनको घोषणा पत्र जारी गरी शान्ति दीप प्रज्वलन गरेर समापन गरिने छ ।
लुम्बिनीका पर्यटकीय स्थलहरुको ब्राण्डिङ गर्ने लक्ष्य लिएको यो शिखर सम्मेलनमा सहभागि विदेशी पाहुनालाई बर्दिया राष्ट्रिय निकुञ्ज, ऐतिहासिक धार्मिक स्थल प्युठानको स्वर्गद्वारी र पाल्पाको तानसेनमा भ्रमण गराईने छ ।
सम्मेलनका विषयमा केही निराधार टिकाटिप्पणी भएको पाईएको बताउँदै मुख्यमन्त्री तथा सम्मेलनका निर्देशक चौधरीले त्यसमा कुनै सत्यता नभएको पनि प्रष्ट पार्नुभयो । उहाँले हुँदै नभएका कुरामा भ्रमको खेती गर्ने काम भएको भन्दै प्रदेश सरकार कुटनीतिक संवेदनशिलताप्रति सजग गरेको र नेपालको परराष्ट्र नीति अनुरुप असंलग्नता र पञ्चशीलको सिद्धान्त अनुरुप नै सम्मेलनको तयारी भईरहेको दावी गर्नुभयो ।