नारायण भट्टराई /
समुद्र मन्थन (क्षीरसागर मन्थन) हिन्दू पुराणहरू—विशेष गरी विष्णु पुराण, भागवत पुराण र महाभारत—मा वर्णित एक अत्यन्तै महत्त्वपूर्ण दिव्य घटना हो । देवता र असुरहरूले अमृत (अमरत्व दिने रस) प्राप्त गर्न क्षीरसागर (दूधको समुद्र) लाई मन्थन गरेका थिए ।
मनु र अवतारको सन्दर्भ पाँचौँ मनु रैबत भए । त्यतिबेला बैकुण्ठ नामका भगवानको अवतार भएको थियो । लक्ष्मीको आज्ञाले उहाँले बैकुण्ठ धामको निर्माण गर्नुभयो ।
छैटौँ मनु चाक्षुष थिए । त्यस समयमा अजित नामका भगवानको अवतार भयो । उनै भगवानले समुद्र मन्थनमा देवता र दैत्यलाई सहायता गर्नुभयो र कच्छप (कूर्म) अवतार ग्रहण गर्नुभयो ।
समुद्र मन्थन किन भयो ?
देवता ऋषि दुर्वासाको श्रापका कारण निर्बल भएका थिए । असुरहरू बलवान हुँदै गएपछि देवताहरूले भगवान विष्णुसँग शरण मागे । विष्णुको सुझावअनुसार अमृत निकाल्न देव–असुर मिलेर समुद्र मन्थन गर्न सहमत भए ।
समुद्र मन्थन कसरी भयो ?
मन्थन दण्ड (मदानी): मन्दराचल पर्वत प्रयोग गरियो । देवता–दैत्यले उठाउन असम्भव भएपछि गरुड र कच्छपको सहारा लिइयो ।
मन्थन रज्जु (डोरी): वासुकी नाग ।
आधार: मन्दराचल डुब्न नदिन विष्णुले कूर्म (कच्छप) अवतार धारण गर्नुभयो ।
देवता वासुकीको पुच्छरतर्फ र असुरहरू टाउकोतर्फ समातेर मन्थन गर्न थाले । यहाँ एउटा रोचक कथा छ—दैत्यहरू देवताले भनेको उल्टो गर्ने गर्थे । देवताहरूले “हामी पुच्छरतर्फ समाउँछौँ” भनेपछि दैत्यहरूले विरोध गरेर मुखतर्फ रोजे । यसको कारण वासुकीको मुखबाट निस्कने विषबाट दैत्यहरू छिट्टै नष्ट होउन् भन्ने थियो ।
हलाहल विष : मन्थनको क्रममा सबैभन्दा पहिले भयानक हलाहल विष निस्कियो, जसले सारा सृष्टि नष्ट गर्ने खतरा उत्पन्न गर्यो । तब भगवान शिवले लोककल्याणका लागि त्यो विष पिएर कण्ठमै रोके—त्यसैले उहाँ नीलकण्ठ कहलिनुभयो । त्यसपछि अनेक रत्न निस्किएको भनिन्छ ।
समुद्र मन्थनबाट निस्केका प्रमुख रत्नहरू (१४ रत्न) समुद्र मन्थनबाट चौध रत्न प्रकट भए, तीमध्ये प्रमुख यस प्रकार छन्—
लक्ष्मी – धन र समृद्धिकी देवी
धन्वन्तरी – अमृतसहित प्रकट
अमृत कलश – अमरत्व दिने रस
ऐरावत – इन्द्रको हात्ती
कौस्तुभ मणि – अजित भगवानसँग
कल्पद्रुम – देवताहरूका लागि
रम्भा नामकी अप्सरा – देवलोकमा
कन्याकारूपमा बारुणी – दैत्यहरूका लागि
कामधेनु – इच्छा पूरा गर्ने गाई
उच्चैःश्रवा – दिव्य घोडा
पारिजात वृक्ष – स्वर्गीय कल्पवृक्ष
पाञ्चजन्य शंख – देवता
चन्द्रमा – शिवको जटामा विराजमान
अमृतको विवाद : अमृत प्राप्त भएपछि देव–असुरबीच विवाद भयो । देवताहरूको पंक्तिमा चन्द्रमाको नजिक राहुले हात छिराएर अमृत मुखमा हाल्यो । सूर्य र चन्द्रमाले देखेर विष्णुलाई इशारा गरे । तत्कालनै श्रीविष्णुले सुदर्शन चक्र प्रयोग गरी राहुको टाउको काटिदिनुभयो । अमृत मुखमा परिसकेको हुनाले टाउको र धड जीवित भई राहु र केतु दुई ग्रह बने ।
राहुको मुखबाट निस्कने अमृतबाट लसुनको उत्पत्ति भयो भनिन्छ, र यसको रगतबाट प्याजको उत्पत्ति भयो भन्ने विश्वास छ । त्यसैले धार्मिक कार्यमा लसुन र प्याज प्रयोग नगर्ने चलन छ ।
मेरो व्यक्तिगत धारणा अनुसार हिन्दू धर्ममा बच्चा जन्मेको छैटौँ दिन भाग्य विधाताले जीवनभरको लेखा लेखेर जाने विश्वास छ । तर मुस्लिम धर्ममा दैनिक अल्लाह लेख्न आउँछन् र गन्ध आउने भएकाले जुठो मानिँदै लसुन–प्याज नखाइने प्रचलन रहेको सुनिन्छ ।
मोहिनी अवतार तब विष्णुले मोहिनी अवतार लिएर चतुराईपूर्वक अमृत देवतालाई मात्र पिलाउनुभयो । मोहिनीको सौन्दर्य, हावभाव र मुस्कानले देवता, दानव मात्र होइन भगवान शिवसमेत मोहित भए ।
राक्षसहरूले मोहिनीमाथि पूर्ण विश्वास गरे र अमृत बाँड्ने जिम्मा उनलाई दिए । मोहिनीले देवताहरूलाई अमृत पिलाउँदै गइन् र राक्षसहरू उनको सौन्दर्यमा मोहित भएर पर्खिरहे ।
राहुले यो चाल बुझे तर सूर्य–चन्द्रमाले चिनेर विष्णुलाई जनाएपछि राहु छिन्नभिन्न भयो । यही कारण सूर्य र चन्द्र ग्रहण लाग्ने कथा प्रचलित छ।
देवासुर संग्राम अमृत नपाएपछि राक्षसहरू क्रोधित भए र देवतामाथि आक्रमण गरे । क्षीरसागरको किनारमा भयंकर युद्ध भयो, जसलाई “देवासुर संग्राम” भनिन्छ ।
इन्द्र र राजा बलीबीच घमासान युद्ध भयो । विभिन्न देवताहरूले विभिन्न दैत्यहरूसँग युद्ध गरे । नमुचि दैत्यलाई समुद्री फिँजले मारेको कथा विशेष प्रसिद्ध छ ।
पछि नारदको मध्यस्थतामा युद्ध रोकियो । गुरु शुक्राचार्यले संजीवनी विद्याद्वारा राजा बलीलाई पुनर्जीवित गरे । ब्राह्मणहरूको आशीर्वादले बलिले विश्वजित यज्ञ गरे र पुनः तीन लोकमा शासन गरे ।
राजा बलि र वामन अवतार
राजा बलि भगवानका महान भक्त थिए । भक्तको वशमा भगवान रहन्छन् भन्ने उदाहरण बलिको जीवनबाट देखिन्छ । पछि भगवान वामन अवतार लिएर आए पनि बलिको साहस घटेन ।
“तँ एक पाइला मेरो तर्फ हिँड, म दस पाइला तेरो तर्फ आउँछु” भन्ने भगवानको वचन गुरुहरूबाट सुन्न पाइन्छ । बलिलाई पाताल लोक पठाइए पनि उनको भक्ति अमर रह्यो । त्यसैले पाँच दिनको तिहारमा भगवान स्वयं बलिको ढोकामा पालो बसेको विश्वास गरिन्छ ।