आठौं बुटवल खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ प्रनव मानन्धर च्याम्पियन बनेका छन् । शुक्रबार सम्पन्न रोमाञ्चक फाइनलमा उनले आयुष्मान घलेलाई २-६, ६-० र ६-२ को सेटमा पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाए ।
फाइनल खेलको सुरुवातमा दबाबमा देखिएका प्रनवले पहिलो सेट २-६ ले गुमाएका थिए । आयुष्मानले आक्रामक प्रदर्शन गर्दै खेलमा पकड बनाएका थिए । तर दोस्रो सेटदेखि प्रनवले अद्भुत पुनरागमन गर्दै खेलको लय पूर्ण रूपमा आफ्नो पक्षमा मोडे । उनले दोस्रो सेटमा आयुष्मानलाई कुनै पनि गेम जित्न नदिँदै ६-० को सशक्त जित निकाले ।
निर्णायक तेस्रो सेटको सुरुवात आयुष्मानले राम्रो गरेपनि त्यसपछि प्रनवले लगातार अंक जोड्दै खेल नियन्त्रणमा लिए । खेलका क्रममा दुवै खेलाडीलाई खुट्टामा क्र्याम्प आएपछि केही समय खेल अवरुद्धसमेत भएको थियो । अन्ततः प्रनवले ६-२ ले तेस्रो सेट जित्दै करिअरकै पहिलो पुरुष ओपन उपाधि हात पारे ।
उपाधिसँगै प्रनवले नगद ६० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता आयुष्मानले ३० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।
प्रतियोगिताअन्तर्गत पुरुष ३५ वर्षमाथिको एकलतर्फ कमलबहादुर भण्डारीले अनिस साईलाई हराउँदै उपाधि जिते । महिला ओपनमा सुनीरा थापा विजेता बनिन् ।
यसैगरी विभिन्न उमेर समूहका प्रतिस्पर्धामा ४५ प्लस सिंगल्समा कमल भण्डारी, ५५ प्लसमा चन्द्र शाही र ६५ प्लसमा मनोज राणा विजेता बने । डबल्सतर्फ मेन्स ओपनमा प्रनव खनाल र आयुष्मान घलेको जोडी, ३५ प्लसमा विकास खड्का र संजय श्रेष्ठ, ४५ प्लसमा धर्म लामिछाने र राज गुरुङ तथा ५५ प्लसमा चन्द्र शाही र देवेन्द्र श्रेष्ठको जोडीले उपाधि जिते ।
विजेता तथा उपविजेता खेलाडीहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मूल, केन्द्रीय सदस्यहरू तथा आयोजक प्रतिनिधिहरूले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा कुल ११ विधामा प्रतिस्पर्धा भएको थियो, जसले बुटवललाई राष्ट्रिय स्तरको टेनिस गतिविधिको केन्द्रका रूपमा पुनः स्थापित गरेको छ ।