तरकारी खेतीले जीवनशैली फेरिँदै

896

तरकारी खेतीले जीवनशैली फेरिँदै

भक्तपुर, ७ असार । नगरकोट नगरपालिका– १, ताथली नाला छापकी ३० वर्षीया सिर्जना थापा ११ वर्षअघि ललितपुरको टीका भैरवबाट विवाह गरी यहाँ आउनु भएको थियो । श्रीमान बेरोजगार तथा पाँच भाइ छोरामा जग्गा बाँडिदा आफ्नो भागमा परेको जग्गाको उब्जनीले उहाँलाई खान लाउन धौधौ हुनथाल्यो । तर त्यही खेतमा काउली, आलु, वन्दागोभी, लौका र काँक्रालगायत तरकारी बाली लगाउन थालेपछि अहिले उहाँको जीवन फेरिएको छ ।

“तरकारी खेती गर्न थालेदेखि घरखर्चको समस्या टरेको छ,” उहाँले भन्नुभयो । छोराछोरीलाई बोर्डिङमा पढाउन सकिएको छ । त्यसैगरी नालाछापकै शिवराम खत्री तरकारी खेतीले जीवनस्तर उकासिएको बताउनुुहुन्छ । उहाँले करिब डेढ रोपनीमा काँक्रा र काउली फलाउनुभएको छ । तरकारीबाली उठाएर उहाँ धान रोप्ने तयारीमा हुनुुहुन्छ । थापा र खत्री मात्र होइन यतिखेर भक्तपुर नगरकोट नगरपालिकाका ताथली, सुडाल, बागेश्वरीका अधिकांश बासिन्दाको तरकारी खेतीले दैनिक जीवनशैली नै फेरिएको छ ।

वर्षको दुईबाली अन्न फल्ने खेतबारीमा तरकारी फल्न थालेपछि आर्थिक अवस्था सुध्रिएको छ । जीवनशैली विस्तारै परिवर्तन हुँदै गएको छ । पहिले पहिले दिनभरी जुवातास खेलेर बस्ने युवा अहिले तरकारी गोड्ने, टिप्ने र बजार पु¥याउनमै व्यस्त हुनथालेका छन् । नेपाली सेनाका जागिरे खत्री घर बिदामा तरकारी खेतीमा व्यस्त रहनुहुन्छ ।

“एक सिजनमा रु ५० हजार बचत हुन्छ,” उहाँले भन्नुभयो । तरकारी खेतीको आम्दानीबाट थापाले छोराछोरीलाई बोर्डिङमा पढाइरहनुभएको छ । गाउँसम्म यातायातको विस्तार भएकाले बजारसम्म तरकारी पु¥याउन समस्या छैन । जिल्लाको ताथली, सुडाल, बागेश्वरीलगायत क्षेत्रमा जिविसले किसानको जीविर्कोपाजन कार्यक्रमअन्तर्गत विभिन्न तालिम, कृषि सम्बन्धी प्रविधि हस्तान्तरण गरेको थियो ।

ताथलीमा आलुखेती, नगदे तरकारी खेतीमा सिमी, काँक्रा र फूलखेती विस्तारमा कृषकलाई समूह बनाई कार्यक्रम सञ्चालन गरिएको कोषका प्रमुख राजन शर्माले बताउनुभयो । ताथली र सुडालमा बेमौसमी आलु खेतीबाट मात्रै कृषकले वार्षिक रु एक करोड बढी आम्दानी गर्ने गरेका कार्यालय प्रमुख पूर्ण ढुङ्गानाले बताउनुभयो । “कृषक समूहलाई तालिम, बिउबिजन र आवश्यक प्राविधिक सेवा उपलब्ध गराउँदै आएका छौँ,” उहाँले भन्नुभयो । रासस