बुटवल, ११ साउन । सोमवार सांझ देखि परेको भिषण वर्षाले देशभर जनधनको क्षती भएको छ । बाढी र पहिरोमा परी गुल्मीमा पांच जना र पाल्पामा चार जनाको मृत्यु भएको छ ।
गुल्मीमा पहिरोले पुरिएर पाँचको मृत्यु
अविरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जी रहेका छन् ।
त्यसैगरी, बिसुखर्क गाविस–९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीया छोरी सिमाना रानाको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभएको छ । पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाइते बनेका छन् । ५५ वर्षपछि गुल्मीमा यति ठूलो बाढी आएको स्थानीयले बताएका छन् ।
बाढीले हजारौँ रोपनी फाँट समेत डुबानमा पारेको छ । बाढी र पहिरोका कारण गुल्मीमा एक दर्जनभन्दा बढी घरगोठमा समेत क्षति पुगेको बताइएको छ ।
बडिगाडखोलाले झोलुङ्गे पुल बगायो
गुल्मीको मुसिकोट गाविस र वामी गाविसबीच जोड्ने झोलुङ्गे पुल बडिगाड खोलाले बगाएको छ । मुसिकोट गाविस–६ ताल्तुङ र वामी गाविस–१ को सुदीमा रहेको झोलुङ्गे पुल अविरल वर्षासँगै बडिगाड खोलामा आएको बाढीले आज बिहान उक्त झोलुङ्गे पुल बगाएको स्थानीय जनकबहादुर खत्रीले जानकारी दिनुभयो ।
यस झोलुङ्गे पुल हुँदै गुल्मी तथा बागलुङका गरी झन्डै एक दर्जनभन्दा बढी गाविसको आवतजावतमा प्रत्यक्ष समस्या पु¥याएको छ । झोलुङ्गे पुल टुटेसँगै मुसिकोटवासी र वामीटक्सार बजारमा पढ्ने विद्यार्थी, सर्वसाधारण, खेती किसानी, व्यापार व्यवसाय गर्ने लगायतको दैनिकीमा पुल टुटेसँगै आवतजावतमा थप कष्टकर बनेको छ ।
विसं २०१८ पछिकै बडिगाड खोलाको बाढी ठूलो र उच्च भएको स्थानीयवासीको भनाइ छ । खोलाले गुल्मीको मुसिकोट गाविस वडा नं ६ र ७ का आधा दर्जन किसानको खेत कटान गर्दा सयौँ मुरी फल्ने धान समेत बगाएको छ ।
पहिरोले घर पुरिँदा बालिकाको मृत्यु
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको दोभान गाविस–१ झुम्सामा पहिरोले घर पुरिँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तिलोत्तमा उच्च मावि दोभानमा कक्षा ९ मा पढ्ने १४ वर्षीया अस्मिता विक रहेकी छिन् ।
राति सुतिरहेको बेला सडकमाथिको पहिरोले घर पुरिँदा च्यापिएर ज्यान गएको स्थानीय नारायण थापाले जानकारी दिनुभयो । पहिरोले तीन घर पुरिएका छन् भने अन्य चार घर जोखिममा रहेको स्थानीयले बताएका छन् । बिहानैदेखि स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरीको पहलमा उद्धार गरिरहेको स्थानीय बासिन्दा थापाले बताउनुभयो ।
तीन घर पूरै परिएकै अवस्थामा रहेका र अन्य चार घरमा पहिरोले गिट्टी, बालुवा र पानी भरिएको छ । पहिरोले सडक अवरुद्ध बनेपछि पाल्पा–बुटबल हिँड्ने सवारीसाधन समेत चल्न सकेका छैनन् ।
पुरिँदा तीन जनाको मृत्यु
पाल्पा जिल्लाको गोठादी गाविस–५ दमारमा पहिराले घर पुरिँदा राति निदाइरहेका एकै घरका तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तामबहादुर कनौजे तथा उनका श्रीमती र छोरी रहेको प्रहरीको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार माथा प्रहरी चौकीको नेतृत्वमा घटनास्थलमा प्रहरी खटिएका छन् ।
लगातारको वर्षाले जिल्लाका अधिकांश भेगमा पहिरो गएको छ । पानी नरोकिएपछि उद्धारमा समेत समस्या देखिएको छ । जिल्लाको दोभान गाविस–१ झुम्सामा पहिराले घर पुरिँदा यसअघि अस्मिता विकको मृत्यु भएको थियो ।
प्युठानमा चार शव फेला, दुई बेपत्ता
प्युठानको लुङ गाविस–६ मा शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ । पहिरोले घर भत्काएपछि शोभाको उद्दार गर्नखोज्दा मृत्यु भएको थियो भने परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए ।
यसैगरी, बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको र कार्कीडाँडा पक्की पुलमुनि झिमु्रक खोलाको माझमा पनि एक बेवारिसे शव फेला परेको छ । खैरा झोलुङ्गे पुलमुनि अर्को एक शव पनि फेला परेको छ ।
त्यस्तै, झिमु्रक नदीको खैरामा बुटवल पावर कम्पनीको ड्याम साइटमा पनि अर्को एक बेवारिसे शव फेला परेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताउनुभएको छ । यस्तै, लुङ–६ मा डेरा गरी बस्ने काली विक र पवित्रा पुन आफ्नो घर पहिरोले बगाउँदा बेपत्ता भएका छन् ।
त्यसैगरी, खवाङ राजवारा र अर्खा गाविसमा अहिलेसम्म एक दर्जन घरमा क्षति भएको तर मानवीय क्षतिको भने कुनै विवरण नआएको बताउनुभयो । झिमु्रक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ । नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ ।
रजवारा गाविसमा स्थानीयले आफँैले निर्माण गरेको थाराखोला लघु जलविद्युत् आयोजना, तिखाचुली लघु जलविद्युत् आयोजना र सिरिङ खोला जलविद्युत् आयोजना पूर्णरुपमा बगाउँदा करिब ९०० घरधुरी अध्याँरोमा बस्नुपरेको स्थानीय जोगेन्द्र मल्लले बताउनुभयो ।
अर्खा गाविसमा पनि तीनवटा लघु जलविद्युत् आयोजना बाढीले बगाएको छ । सुसाउने खोला, जुरढुङ्गा कोर्चे र कालिमाटी लघु जलविद्युत् आयोजनाको तार, पोल र विद्युत् उत्पादनगृह बाढीले बगाएको सुसाउने खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष पुमलाल घर्तीले जानकारी दिनुभयो ।
जिल्लाको स्याउलीवाङ गाविसमा रहेको सरिमाखोला लघु जलविद्युत् आयोजनामा कम्पनीका सबै भौतिक संरचना बाढीले बगाएको छ ।