‘राजनीति ट्रयाकमा नआउँदा सम्म समृद्धि सम्भव छैन’

1.3K

‘राजनीति ट्रयाकमा नआउँदा सम्म समृद्धि सम्भव छैन’

poshan kc

बुटवल, १२ भदौ । मुलुकको राजनीति सहि ट्रयाकमा नआउँदा सम्म आर्थिक बिकास र समृद्धिको सपना पुरा हुन नसक्ने आईतबार बुटवलमा आयोजित एक कार्यक्रमा बोल्ने वक्ताहरुले औंल्याएका छन् । मुलुकको आर्थिक समृद्धिको सपना पुरा गर्ने हो भने राजनीतिलाई सहि ट्रयाकमा ल्याउन आवश्यक रहेको उनीहरुको भनाई छ ।

शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध टेलिभिजनले आईतबार बुटवलमा आयोजना गरेको आर्थिक बिकासकालागि मिडियाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले मुलुकको राजनीतिलाई सहि ट्रयाकमा ल्याउनकालागि पनि सञ्चार क्षेत्रले खेल्ने भूमिका उल्लेखनीय हुने बताउनु भयो ।

उहाँले त्यसकालागि मिडिया पनि आन्तरिक रुपमा सवल र सक्षम हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । मिडियालाई आर्थिक रुपमा सवल र सक्षम बनाउन नसक्दा मिडियाबाट अपेक्षाकृत रुपमा सूचना सामाग्रि प्रकाशन प्रशारण गर्न नसकिएको उहाँले बिचार व्यक्त गर्नुभयो ।नेपाल पत्रकार महासंघका सल्लाहकार समेत रहनुभएका न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष केसीले मुलुकमा भएका ठूला ठूला राजनीतिक परिवर्तनमा मिडिया र प्रेसले खेलेको भूमिकालाई स्मरण गर्दै उहाँले राजनीतिक दलले मिडिया र प्रेसलाई ‘खोले तर्यो, लौरो बिस्र्यो’ जस्तो गरेको टिप्पणी गर्नुभयो ।

उहाँले अव व्यबसायिक पत्रकारिता आवश्यक रहेको बताउँदै पत्रकारको दक्षता अभिबृद्धि पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्नुभयो ।मिडियालाई व्यबसायिक बनाउने र पत्रकारको व्यबसायिक दक्षता अभिबृद्धि गर्ने तथा सञ्चार गृहलाई पनि आर्थिक रुपमा सवल र सक्षम बनाउन सक्ने हो भने पारिश्रमिक सहित श्रमजीवि ऐनले तोकेका अन्य सेवा सुविधाबाट पनि पत्रकार बिमुख हुन नपर्ने उहाँको भनाई छ ।

buddha

कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले कार्यपालिका, न्यायपालिका र व्यबस्थापिकालाई नियन्त्रण र सन्तुलन गर्नकालागि पनि प्रेसको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । कार्यपालिका, न्यायपालिका र व्यबस्थापिकालाई नियन्त्रण र सन्तुलन गर्न सकिएन भने मुलुकमा मोनोपोली बढ्ने उहाँको भनाई थियो । उहाँले मुलुकमा आर्थिक समृद्धि हुन सकेन भने राजनीतिक आन्दोलनले मात्रै केही हुँदैन भन्ने प्रमाणित भएको बताउँदै उत्पादन मुखि औद्योगिक बिकास अवको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले मुलुकको परनिर्भरता उच्च विन्दुमा पुगेको औल्याउँदै यसलाई रोक्नकालागि पनि उत्पादन मुलुक उद्योगमा लगानी बढाउन सुझाव दिनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता महेन्द्र पाण्डेले आर्थिक समृद्धि र मुलुकको बिकासकालागि अव बिकास पत्रकारिता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक समृद्धि बिना मुलुकको बिकास संभव नभएको उल्लेख गर्दै त्यसकालागि बिकास पत्रकारितालाई नै अवको मिसन पत्रकारिता बनाउन सुझाव दिनुभयो । त्यस्तै उहाँले सञ्चार गृहलाई कसरी बलियो बनाउन सकिन्छ र पत्रकारको दक्षता अभिबृद्धि कसरी गर्न सकिन्छ भन्ने कुरालाई पनि सोच्नुपर्ने भनाई राख्नुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार डिआर घिमिरेले पछिल्लो समयमा सेवामुलक उद्योग (होटल व्यबसाय) मा लगानी बढेको उल्लेख गर्दै सेवा मुलुक उद्योगको मात्रै बिकास भयो भने परनिर्भरता अभै बढ्ने दावी गर्नुभयो । उहाँले उत्पादन मुलुक उद्योगधन्दामा लगानी बृद्धि गर्नकालागि सरकारले पोलिसी बनाउनु पर्ने बताउँदै उत्पादन मुलक उद्योगमा लगानी अभिबृद्धि गर्ने कार्यक्रम सरकारले ल्याउन आग्रह गर्नुभयो ।

त्यस्तै आर्थिक पत्रकार मन्च रुपन्देहीका अध्यक्ष डायलसन अधिकारीले आर्थिक बिकासकालागि पूर्वाधार निर्माणमा सरकारले लगानी गरेपनि प्रयाप्त नभएको उल्लेख गर्नुभयो । उत्पादनमुलक उद्योग धन्दामा लगानी गर्न चाहने लगानी कर्ताकालागि पूर्वाधार निर्माण गर्न जग्गाको समस्या रहेको भनाई राख्नुभयो ।

टेलिभिजनका अध्यक्ष पृथबहादुर फौदारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, सल्लाहकार रामराज पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दिपक ज्ञवाली, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष उज्वल कसजु, नेपाल रोडा ढुङ्गा उद्योग व्यबसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवाली, पश्चिमाञ्चल यातायात व्यबसायी समितिका अध्यक्ष लोकराज पोखरेल, पत्रकार दामोदर ज्ञवाली, ध्रुबकुमार धिताल, कनैयालाल कसौधन लगायतले आर्थिक बिकासका सम्भावना सम्बन्धी भनाई राख्नुभएको थियो ।

टेलिभिजनका कार्यकारी निर्देशक बिष्णु भुसालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन समाचार प्रमुख बिक्रम खड्काले सञ्चालन गर्नुभएको थियो ।