स्वर्णमहोत्सव महायज्ञमा एक करोड ६० लाख संकलन

1.3K

स्वर्णमहोत्सव महायज्ञमा  एक करोड ६० लाख संकलन

बुटवल, २९ माघ । रुपन्देहीको मणिग्राममा सञ्चालन भएको स्वर्ण महोत्सव महायज्ञ–२०७३ आज सकिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मणिग्राममा रहेको सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रममा सञ्चालन गरिएको ५० औं ‘सर्वपुराण, महोत्सव तथा साङ्ग गायत्री पुरश्चरण धान्याचल महायज्ञ’मा करिव १ करोड ६० लाख रुपैंया दान संकलन भएको महायज्ञ सम्पादन समितिका अध्यक्ष नारायण वञ्जाडेले बताउनु भयो ।

यस बाहेक करिव १ करोड ५० लाख रुपैंया बराबरको भूमि गोप्य दान प्राप्त भएको छ । मन्दिर स्थापना भएपछि प्रत्येक वर्ष महायज्ञ गर्दै आईएको थियो । उक्त मन्दिरमा गरिएको महायज्ञ ५० औं पुगेको अवसर पारेर यही माघको १९ गतेदेखि २९ गतेसम्म ११ दिने महायज्ञ गरिएको हो । महायज्ञ सम्पादन गर्ने क्रममा करिव ५० लाख रुपैंया खर्च भएको महायज्ञ सम्पादन समितिका सचिव भरत भुसालले जानकारी गराउनु भयो ।

महायज्ञकै अवसर पारेर गत बिहीवार र शुक्रबार राष्ट्रिय सन्त–विद्वत् सम्मेलनमा देशका लब्ध प्रतिष्ठित सन्त महन्त, धर्मगुरु, पिठाधिश, संस्कृत विश्व विद्यालयका प्राज्ञहरु, हिन्दु धर्मका ज्ञाता तथा अध्यताहरुको सहभागितामा बृहत सन्त सम्मेलन समेत गरिएको र त्यसले सकारात्मक सन्देश प्रवाह गरेको महायज्ञ अनुगमन तथा निर्देशक समिति संयोजक रोमणीप्रसाद पाठकले बताउनु भयो ।

महायज्ञमा १८ पुराँण, रामायण, महाभारतको पारायण, साङ्ग गायत्री पुनश्चरण र विशिष्ट धनधान्याचल ज्ञान महायज्ञका प्रमुख संरक्षक हरिहर सन्यास आश्रम देवघाटका पिठाधिस सन्तशिरोमणी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजद्वारा श्रीमद्भागवतको एकादशस्कन्धमा आधारित दार्शनिक प्रवचन गर्नुभएको थियो । त्यस्तै सन्तहरुबाट पुराण, उपनिषद् र वेदान्तमा आधारित दार्शनिक प्रवचनहरु भएका थिए भने पं. नारायणप्रसाद न्यौपानेले श्रीमद्देवी भागवतमा आधारित संगितमण कथा प्रवचन गर्नुभएको थियो ।

आध्यात्मिक अनुष्ठानका रुपमा स्थापित गर्न खोजिएको महायज्ञको यज्ञशेषबाट सामाजिक, आध्यात्मिक जागरणका कार्यक्रम सञ्चालन गर्नुका साथै बिद्यार्थी आवास गृह, स्थायित्वकोलागि अक्षयकोष निर्माण गर्ने लक्ष्य लिईएको छ ।