ताजा र स्वच्छ मासु खान चिकित्सकको सुझाव

715

ताजा र स्वच्छ मासु खान चिकित्सकको सुझाव

दसैँमा एकैपटक धेरै परिमाणमा मासु खरिद नगर्न चिकित्सकले सुझाउ दिएका छन् ।

बासी मासु खाँदा त्यसको स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले ताजा र सफा मासुलगायत स्वच्छ खानेकुरा खान चिकित्सकको सल्लाह छ । घरमै मासु बनाउँदा पनि धेरै भएको मासुलाई डिफ्रिजमा राखी प्रयोग गर्नुपर्ने वीर अस्पतालका चिकित्सक डा सुरेन्द्र श्रेष्ठले बताउनुहुन्छ ।

अहिले ग्यासको अभावका कारण एकैपटक सबै मासु पकाएर राख्ने सम्भावना पनि भएकाले त्यसो नगर्न डा श्रेष्ठले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “त्यसो गर्दा खाना बिग्रने, सड्ने, गन्हाउने हुन्छ ।”

उहाँले अत्यधिक चिल्लो, पिरो र मसलेदार खाना धेरै खानु स्वास्थ्यका लागि हानिकारक हुने बताउनुभयो । उहाँले भन्नुभयो, “खानामा सागपात, सलाद जस्ता वस्तु पनि समावेश गर्नुपर्दछ ।”

डा श्रेष्ठका अनुसार पसलमा मासु किन्दा पनि सामान्य फ्रिजमा राखिएको भन्दा डिफ्रिजमा राखिएको मात्र खरिद गर्नुपर्दछ । मासु काटेर खुला राखिएको, झिँगा भन्किरहेको मासुपसलबाट मासु खरिद गरी खाँदा त्यसले ‘फुड पोइजन’ हुने, झाडाबान्ता, आउँ हैजाजस्ता रोग लाग्ने सम्भावना बढी मात्रामा भएको उहाँको भनाइ छ ।

पहिले पकाइसकेको खानापछि प्रयोग गर्दा पुनः तताएर मात्र प्रयोग गर्न पनि चिकित्सकको सुझाव छ । साथै, डा श्रेष्ठले एकैपटक धेरै खाना नखान पनि आग्रह गर्नभयो । उहाँले एकैपटक धेरै खाँदा पाचनमा समस्या हुने भएकाले थोरै थोरै मात्र खान खानुपर्दछ ।

वृद्धवृद्धा बालबालिकालाई पनि खानामा गेडागुडी र सागपात समावेश गरी खान दिँदा पाचनमा सहज हुने डा श्रेष्ठको भनाइ छ । सरसफाइमा ध्यान दिँदादिँदै पनि अपच, झाडापखाला भएमा जीवनजललगायत झोलिलो पदार्थ खान र समयमै चिकत्सकको परामर्शमा औषधि सेवन गर्न पनि उहाँले सुझाव दिनुभयो ।