फोक्सो कुहिएको तस्बिर राखेपछि आधाले छाडे चुरोट

1.1K

फोक्सो कुहिएको तस्बिर राखेपछि आधाले छाडे चुरोट

cigarette

क्यान्सरले फोक्सो कुहिएको तस्बिरसहितका सन्देश (पिक्टोरियल हेल्थ वार्निङ) बट्टामा राखेर बिक्री गर्न थालेको लामो समयपछि उपत्यकामा चुरोट र सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसको संख्या घटेको छ ।  

एक्सन नेपालले हालै गरेको अध्ययनअनुसार चुरोटलगायत सुर्तीजन्य पदार्थ सेवनले निम्ताउने फोक्सो, मुखलगायत संवेदनशील अंगको क्यान्सर र अन्य स्वास्थ्य  समस्यासहितका तस्बिर देखेपछि लामो समयदेखि चुरोट सेवन गर्दै आएकामध्ये ५८ प्रतिशतले चुरोट छाडेका छन् ।
 
एक्सन नेपालका अध्यक्ष एवं अध्ययनमा संलग्न आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थमा राखिएको तस्बिरसहितको सन्देश प्रभावकारी देखिएको बताए । ‘दिनमा ११ खिल्ली चुरोट खानेले पिक्टोरियल हेल्थ वार्निङ राखिएको बट्टा आएपछि घटाएर पाँचवटामा झरेको अध्ययनले देखाएको छ’, उनले भने, ‘यो सुर्तीजन्य पदार्थमा छापिने तस्बिरसहितको सन्देशको प्रभाव हो ।’

अध्ययनअनुसार ९३.८ प्रतिशतले उक्त सन्देश देखेको र ७०.६ प्रतिशतले उक्त सन्देशका पक्षमा आफ्नो मत जाहेर गरेका थिए । अध्ययनले भनेको छ, ‘तस्बिर ६९ प्रतिशतले आफूलाई डरलाग्दो लागेको र ४१.३ प्रतिशतले आफूलाई चिन्तित बनाएको बताएका छन् ।’
 
एकचोटि खाएर छाडेकामध्ये ९५ प्रतिशतले आफूलाई फेरि सुरु गर्न उक्त सन्देशले निरुत्साहित गरेको र १३ वर्षदेखि १८ वर्षकामा ९० प्रतिशतले सुरु गर्न रोकेको अध्ययनमा उल्लेख छ । डरका कारण चुरोट सेवनकर्तामध्ये ६३ प्रतिशले बट्टा पसलमै छाड्ने गरेको देखिएको छ । तर अध्ययनअनुसार डरलाग्दा तस्बिरसहितको सन्देश छापिन थालेपछि सुर्तीजन्य पदार्थ बिक्री कम भएको भन्दै खुद्रा व्यापारी तथा पान पसलेले आफूहरू घाटामा परेको बताएका छन् ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले ९० प्रतिशत चित्रात्मक सन्देश छाप्नुपर्ने नियमसमेत छिट्टै कार्यान्वयन हुने बताए । ‘डरलाग्दो तस्बिरसहितको सन्देशले धूमपान र सुर्तीजन्य पदार्थको सेवन गर्ने अम्मलीलाई सचेत बनाएको छ’, सचिव श्रेष्ठले भने, ‘यो सचेतना देशभरका मनिसलाई खाँचो छ ।’
 
सरकारले २०६८ सालमा सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलनमा खान नपाउने भन्दै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन ल्याए पनि कार्यान्वयन नभएपछि सर्वोच्च अदालतले गत वैशाखमा चुरोटलगायत सुर्तीजन्य पदार्थका बट्टाको ७५ प्रतिशत भागमा डरलाग्दा तस्बिरका साथमा ‘सुर्र्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने सन्देश अनिवार्य राखेर मात्र बिक्री गर्न सम्बन्धित उद्योगलाई आदेश दिएको थियो ।
 
सरकारले धेरै चुरोटका सेवनकर्ताले बट्टा हेर्नु नपरोस् भनेर खिल्ली मागेर सल्काउने भएकाले त्यसलाई समेत रोक्ने प्रक्रिया थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन हेर्ने सहसचिव खिमानन्द भुसालले उक्त कानुनी व्यवस्था लागूको अन्तिम तयारीमा पुगेको बताए । कार्यक्रममा मन्त्रालयअन्तर्गतको टोबाको कन्ट्रोल सेलका प्रमुख बद्री खड्काले सुर्तीजन्य पदार्थ नियन्त्रणमा आफू लागिपरेको बताए ।अन्नपूर्ण पोष्टबाट