पत्रकारको पेशागत सुरक्षाका विषयमा चिन्ता

पत्रकारको पेशागत सुरक्षाका विषयमा चिन्ता

बुटवल, ३० कात्तिक । पत्रकारको पेशागत सुरक्षाका विषयमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । आज बुटवलमा चाँदनी नेपाल र फ्रिडम फोरमले आयोजना गरेको पत्रकारको सुरक्षा र दण्डहीनता विषय गोष्ठीमा उहाँहरूले पत्रकारसँग जोडिएका विषयले समाजलाई प्रभावित बनाउने बताउनुभयो । सो अवसरमा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले पत्रकारको पेशागत सुरक्षाको प्रश्न आन्तरिक कलह हुन सक्ने उल्लेख गर्दै पत्रकारलाई पत्रकार भएका कारण हस्तक्षेप गर्नु गम्भीर विषय भएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले पत्रकार असुरक्षित हुनु भनेको अभिव्यक्ति स्वतन्त्रतामाथिको कुठाराघात भएको औँल्याउँदै कानूनी हिसाबले पनि असुरक्षाको महसुस हुन थालेको उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईले पत्रकारको सुरक्षा गम्भीर भएको बताउनुभयो । महासङ्घका पूर्वअध्यक्ष धमेन्द्र झाले पत्रकारको पेशागत सुरक्षा राज्यको दायित्व भएको उल्लेख गर्दै राज्यका सबै निकायको सहकार्यबाट समृद्धि हासिल हुनेमा जोड दिनुभयो । महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले ‘सेल्फ सेन्सरसिप’ को प्रश्न चुनौतीपूर्ण भएको बताउनुभयो । उक्त अवसरमा पत्रकार माधव नेपाल, सुमन अधिकारी, विष्णु भुसाल, भवानीप्रसाद पाण्डे, माया गौतम, अधिवक्ता महेन्द्र पाण्डेयलगायतले पेशागत सुरक्षा नभएकाले पनि दण्डहीनता बढ्दै गएको बताउनुभयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •