राजाराम कार्की
लिवाङ (रोल्पा), ७ असार । भूगोलले साथ दिएन भने राजनीतिक परिवर्तनबाट मात्र भौतिक विकास सम्भव हुँदो रहेनछ भन्ने उदाहरण हेर्न जनयुद्धको उद्गम थलो रोल्पा पुगेपछि महसुस हुन्छ ।
रोल्पामा राजनीतिक चेतना विस्तार हुनाका साथै समयसापेक्ष मानिसहरूका पेसा व्यवसायमा परिवर्तन आएको छ । महिलाले हलो जोत्नु, सैलुन सञ्चालन गर्नु, पान पसल, तरकारी खेती र पशुपालनतर्फ उन्मुख हुनु तथा जातीयताका आधारमा पेसा व्यवसायलाई अपमान नगर्नु यहाँको राजनीतिक परिवर्तनको उपहार हो । राजनीति व्यवस्था परिवर्तन हुँदैमा विकास हुन्छ भन्ने भ्रम अबको नयाँ पुस्ताले नसोचे हुन्छ । विकास गर्न त सोचमा परिवर्तन र भावनात्मक एकता तथा चेतनाको स्तरमा वृद्धि र भूगोलको साथ समेत रहनुपर्ने रहेछ भन्ने यहाँका स्थानीयवासीले बुझेको पाइन्छ । “स्थानीय रोल्पालीले परिवर्तन खोजेको देखिन्छ ।
उनीहरू दुःखबाट छिट्टै परिवर्तन चाहन्छन्”, पत्रकार एलबी मगर भन्नुहुन्छ, “अधिकांश रोल्पालीलाई आफ्नो जमिनको उत्पादनले तीन महिना मात्र खान पुग्छ । अन्य नौ महिना जीवन धान्न गाउँ छाड्नु यहाँको रहर होइन, बाध्यता हो ।”
यहाँ सिँचाइको सुविधा छैन । पहाडी जमिन छ । ढुङ्ग्यानी माटामा लगानी अनुरूपको आम्दानी हुँदैन भन्ने प्रमाण जिविस रोल्पाले प्रकाशन गरेको ‘जिल्ला विकास दर्पण’ बुलेटिनबाट स्पष्ट हुन्छ । “हामीले नेताका तीक्ष्ण भाषण १० वर्षसम्म सुन्यौँ । सुन्दा आनन्द लाग्थ्यो । शरीरमा जोस उत्पन्न हुन्थ्यो तर भाषणले मात्र पेट भरिँदोर रहेन छ भन्ने बुझी म तीन वर्ष पहिले मलेसिया गएको थिएँ” रोल्पाका पलसिंह बुढामगरले बताउनुभयो ।
रोल्पामा जन्मनुभएका पुराना क्रान्तिकारी नेता बर्मन बुढा मगर हाल काठमाडौँस्थित छोरीका घरमा बस्नुहुन्छ । त्यसो त नेता बालाराम घर्ती मगर, कृष्णबहादुर महरा, वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओन्सरी घर्ती, वर्षमान पुन, नेत्रविक्रम चन्द , सन्तोष बुढा मगर, जयपुरी घर्ती, झक्कु सुवेदी, बमकुमारी बुढा , भीमकुमारी बुढा, जयप्रकाश रोक्का समेत रोल्पामा जन्मनुभएको हो ।
“नेताका अथक प्रयास विकासनिर्माणका खातिर नभएको भने पक्कै होइन तर विकास गर्ने इच्छा शक्ति हुँदा हुँदै पनि लगानी अनुरूपका प्रतिफल प्राप्त गर्न सकिएन र जनताका अनगन्ती चाहनालाई एकै पटक पूरा गर्न गाह्रो पर्दोरहेछ” – सांसद अमरसिंह पुन भन्नुहुन्छ । रोल्पालीले परिवर्तन चाहे पनि परिणाम भने प्राप्त हुन सकेको छैन । केही जानिफकार एवम् टाठाबाठा गाउँ छाडी सहरतर्फ पलायन भएको नेपाल पत्रकार महासङ्घ रोल्पाका सदस्य तीजा विष्ट जानकारी दिनुहुन्छ । “यहाँका राजनीतिक दलका नेताबीच खिंचातानी बढेको छ । उपभोक्ता समितिमा आफ्नो मानिस छ÷छैन बुझ्छन् र कमिसनतन्त्रको भागबन्डामा गोलाकार हुन्छन”, सांसद पुन भन्नुहुन्छ । यस वर्ष जिविस रोल्पाले १६७ टुक्रे योजना निर्माण गर्न छनोट गरिसकेको छ तर अझैसम्म केही उपभोक्ता समिति सम्झौताका लागि जिविसको सम्पर्कमा नआएको स्थानीय विकास अधिकारी सुशील वैद्य बताउनुहुन्छ ।
उपभोक्ता समिति सर्वदलीय हुने तर जवाफदेही, जिम्मेवारी नबनेको, एक दलका नेताले अर्को दलका नेतालाई र एक उपभोक्ता समितिले अर्काे उपभोक्ता समितिलाई पन्छाउने र उम्कने गरेको राप्रपा नेपालका क्षेत्रीय अध्यक्ष दुर्गाबहादुर थापाले बताउनुभयो ।
रोल्पा राजनीतिक हिसाबले चर्चित जिल्ला हो । जनयुद्धको उद्गमस्थल यसैलाई लिने गरिन्छ । विसं २०५२ फागुन १ गते रोल्पाको होलेरी चौकीमा कार्यरत प्रहरीबाट हतियार लुटी सर्वहारा जनताको मुक्तिको आन्दोलन भन्दै तत्कालीन नेकपा(माओवादी)ले सशस्त्र आन्दोलनको थालनी गरेको थियो । माओवादीले सोही दिन रुकुम र सिन्धुली जिल्लाका चौकीबाट पनि हतियार लुटेको थियो । शान्ति प्रक्रिया सुरु भई हतियारको व्यवस्थापन भएर हाल जनताले आफ्ना लागि आफैँले संविधान लेख्ने काम फत्ते गरिसकेका छन् तर रोल्पालीको जीवनस्तरमा खासै परिवर्तन नआएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख रामप्रसाद घर्तीको भनाइ छ ।