मङ्सिरमा ‘मकैको अर्कै खेती’

758

मङ्सिरमा ‘मकैको अर्कै खेती’

cornकाठमाडौँ/ देशका किसान मुख्य अन्नबाली धान थन्क्याउने चटारोबाट फुर्सद लिँदैछन् । राजधानीको थिएटर भिलेजमा डा सञ्जीव उप्रेती लेखनको ‘मकैको अर्कै खेती’ नाटक मञ्चनमा कलाकार व्यस्त छन् । विमल सुवेदीको परिकल्पना तथा निर्देशनको उक्त नाटकको मञ्चन गत १८ गतेदेखि सुरु भएको छ र २७ गतेसम्म चल्नेछ ।
सुब्बा कृष्णलाल अधिकारीले १९४६ सालतिर लेखेको ‘मकैको खेती’ नामक पुस्तक १९७७ मा प्रकाशित भयो । तत्कालीन समयमा एक हजारप्रति छापिएको उक्त पुस्तक लेखक अधिकारीले कुन सन्दर्भमा लेखे, लेखाजोखा अझै सकिएको छैन । तर तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले भने उनको पुस्तकलाई विशुद्ध कृषि शिक्षासम्बन्धी पुस्तकका रूपमा मात्रै लिन इन्कार गरे र गाथगादी ताकेको अभियोग लगाए । लेखकले उल्लेख गरेका मकैमा लाग्ने दुई राता र सेता किराका बारेमा राणाले राजनीतिक गन्ध देखे र अधिकारीलाई बन्दी बनाए । पाँच वर्षपछि लेखक अधिकारीको न्याय÷अन्यायको छिनोफानो नभई बन्दीगृहमै मृत्यु भयो ।
‘मकैको अर्कै खेती’ पुस्तकलाई मञ्चन गरिएको नाटक हेर्दा लाग्छ यो ‘मकैको खेती’कै दोस्रो संस्करण हो । यसको कथा आफैँ बोल्छ । भूकम्पका कारण छियाछिया भएको जनजीवन सामान्य भइसकेको छैन । देशको अर्थतन्त्र डावाडोल छ । राजनीतिले पनि सही दिशा लिन सकेको छैन । यस्तोे बेला एक लेखकको ‘मकैको अर्कै खेती’ नामक पुस्तक प्रकाशित हुन्छ । पुस्तकमा लेखिएको हुन्छ, “सेता राता दुबै किसिमका किराले मकैलाई खत्तम गर्छ ।” देशको अर्कै हालत भएको बेला लेखकले मकैको खेती गर्न सिकाउने पुस्तकप्रति प्रशासनलाई शङ्का लाग्छ । यही निहुँमा लेखक समातिन्छ र अदालतमा मुद्दा चलाइन्छ । अदालतमा लेखकमाथि विभिन्न आरोप लाग्छ । तर स्वाभिमानी भएपनि गरिब लेखक आफ्नो पक्षमा वकिल राख्ने हैसियत पनि राख्दैनन् ।
लेखक घर भाडा तिर्न नसकेका, गर्भवती पत्नीको इच्छाअनुरुप घरपरिवार चलाउन नसकेका र बढेका छोरी–चेलीलाई ज्वाइँ खोज्न नसकेका निरीह प्राणी छन् । अर्कोतिर प्रतिपक्षका वकिल भने लेखकको पुस्तक लेखनको नियतमा प्रश्न चिह्न उठाउँदै अनेक थरिका साक्षी झिकाउँछन् । ‘निज लेखककै लेखनले भुइँचालो आएको हो’, ‘पुस्तक लेखेर राष्ट्रघाती काम गरेको छ’ जस्ता आरोप खेपेको लेखकप्रति समीक्षक पनि शङ्का गर्दै भन्छन्, “भूकम्पको बेला खेतीको बारेमा लेख्नुको अर्थ अर्कै हुन सक्छ ।”
साक्षीका रूपमा उभ्याइएकी नारीवादी नमिताकुमारी पुस्तकका पङ्क्ति केलाउँदै आरोप लगाउँछिन् – ‘पुस्तकमा नारीको उपस्थिति नगण्य रहनुले लैङ्गिक विभेद देखाउँछ ।’ आरोप लगाउनेमा तेस्रोलिङ्गी पिङ्की, गरिबका पक्षमा वकालत गर्ने अर्जुन सिंहदेखि मकैको खेतीलाई पहाडे बाहुन, क्षेत्रीले मात्रै गर्ने भनेर जातीय विभाजन र भौगोलिक विभेदको बीउ रोपेको आरोप लगाउने मधेसका मन्दीपकुमारसम्मका पात्रले लेखकप्रति शङ्कै शङ्का गर्छन् । ज्योतिष भन्छन्, “लेखक र कलाकार छाडा भई अनिष्ट भएर भूकम्प आएको हो ।” लेखककै घरबेटी नेवारी मूलको रामप्रसाद थप्छ, “यो लेखक पक्कै पनि विदेशी दलाल हुनुपर्छ । नत्र कोठामा महँगो ह्विस्कीको बोतल कताबाट आयो ?” आपत्मा परेको लेखकलाई उनकै प्रकाशक पनि आरोपै लगाउँछन् ।
अन्तमा, सदियौँ अघि मरिसकेको एक विदेशी समालोचक पनि (प्रेत भएर) लेखकविरुद्ध कठघरामा उभिएर भन्छ, “कृति सार्वजनिक भएपछि लेखक जिउँदो रहँदैन ।” त्यसपछि अदालतले फैसला सुनाउँछ, “त्यसो भए लेखक मरिसक्यो ।”
न्यायाधीश, वकिल र साक्षीहरू सबैले लेखकले असान्दर्भिक पुस्तक लेखेको निष्कर्ष निकाल्छन् । उनीहरूको एउटै प्रश्न छ – “देश भूकम्पले जर्जर भएको बेला मकैकै खेतीका बारेमा नै किन लेखेको ?” लेखक लेखकीय स्वतन्त्रताको पक्षमा बोल्दै भन्छन्, “अन्न र कागज किन्न नसक्ने यो देशका जनताका मनमा म लेखिरहन्छु । तर यहाँ स्वतन्त्र लेखकलाई सत्ता केन्द्रले सधैँ अङ्कुश लगाउन खोज्छ । यो क्रम चलिरहेको छ ।”
यहाँ प्रसङ्ग र परिवेश राणाकालभन्दा खासै फरक देखिँदैन । लेखकलाई सिधै प्रश्न गरिन्छ–“तपाइँ को हो ? माले, मसाले, मण्डले, काँगे्रस या विदेशी दलाल ?”
“मैले मकैको खेती साधारण किसानका लागि लेखेको हूँ” भनेर लेखकले विभिन्न तर्क गर्छन्, स्पष्टीकरण दिन्छन् तर उनी सफल हुँदैनन् । पुस्तक लेखेकै कारण सुब्बा अधिकारी जस्तै नाटकका प्रमुख पात्र (डा उप्रेती) पनि झ्यालखानामा जाकिन्छन् । यसले लेखेर बाँच्न सकिने वातावरण अझै सिर्जना भइसकेको छैन भन्ने बोल्छ । धेरै विषयवस्तुलाई पुस्तकमा अटाउने लेखकको आफ्नै घरभित्रको कथा कस्तो हुन्छ भन्ने कुरा नाटक हेरेर बुझ्न सकिन्छ । लेखकलाई दिइने पुरस्कारमाथि पनि पैसाको चलखेल हुने पक्षलाई नाटकले व्यङ्ग्य गरेको छ ।
नाटकमा समसामयिक राजनीति, साहित्य र संस्कृति जस्ता गहन विषयवस्तुलाई देखाइएको भए पनि सामान्य दर्शकलाई पनि नाटक बुझ्न गाह्रो छैन । आन्तरिक समस्या समाधान गर्न पनि विदेशीको आदेश पर्खने नेपाली राजनीतिक परम्परालाई व्यङ्ग्य गर्दै नाटक अन्त्य हुन्छ । यसको व्यङ्ग्यस्वरुप विदेशी लेखकले मृतक ठहर गरेपछि मात्र आरोपित जिउँदो लेखकलाई अदालतले मरेको घोषणा गरेको देखाइएको छ । नाटकमा हास्यव्यङ्ग्य पनि छ । डा उपे्रतीका अलावा नाटकमा अर्चना थापा, प्रश्ना डङ्गोल, सन्देश शाक्य, रब्गातेन्जिङ तुलाधर, बिपुल पाण्डे, रूपेश सुवेदी, सुजन ओली, सरोज अर्याल, निराजन रेग्मी, डार्विन लुङ्गेकली, शतिश प्रसाई, विजय ताम्राकार, इस्तु कार्की, मीरा गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।
‘मकैको अर्कै खेती’ पुस्तकका रूपमा बजारमा आइसकेको छ । यसलाई ‘अ डिफरेन्ट कल्टिभेसन अफ मेज’ नाम दिएर अङ्ग्रेजीमा पनि उल्था गरिएको छ । लेखक उप्रेतीले देशको विषम परिस्थितिमा पनि रङ्गमञ्च बचेको देखाउन नाटक मञ्चन गर्न हतारो गरेको बताउनुभयो । उहाँले नाटक हेर्न सबैलाई आग्रह गर्दै भन्नुभयो – “मकै धेरै दुःख गरेर फलाएका छौँ, गोडमेल गर्न आउनुहोला ।” रासस