नारायण भट्टराई
श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मको एक महान् पर्व हो, जुन भाद्रपद महिनाको कृष्ण पक्षको अष्टमी तिथि, रोहिणी नक्षत्रमा मनाइन्छ । यही दिन मध्यरातमा भगवान श्रीकृष्णले मथुराका राजा कंसको कारागारमा, वासुदेवजी र देवकीको पुत्ररूपमा अवतार लिनुभएको थियो । यस दिन सम्पूर्ण देशभर मन्दिरहरू भव्य रूपमा सजाइन्छन् । झाँकीहरू निकालिन्छन्, झुला बनाइन्छ, र भक्तजनले मध्यरातसम्म व्रत राख्छन् । कृष्णको जन्मको क्षणमा चारैतिर शंख, घण्टी र जयघोषको ध्वनि गुञ्जिन्छ ।
द्वापर युगमा, पृथ्वीमा राक्षसहरूको अत्याचार असह्य हुँदै गयो। दुःखी पृथ्वी गाइको रूप धारण गरी ब्रह्माजीको शरणमा पुगिन् । ब्रह्माजीले देवगणसहित क्षीरसागर पुगेर भगवान विष्णुको स्तुति गरे। भगवान विष्णुले राक्षसहरूको विनाशका लागि श्रीकृष्णका रूपमा यदुवंशमा अवतार लिने वचन दिनुभयो । त्यसै समयमा मथुरामा राजा उग्रसेन शासन गरिरहेका थिए । उनका पुत्र कंस अत्यन्त क्रूर र महत्वाकांक्षी थिए । उनले आफ्नै पितालाई राजगद्दीबाट हटाई जेलमा हालेर आफैँ राजा बने । कंसकी बहिनी देवकीको विवाह वासुदेवसँग भयो । विवाहपछि, आकाशवाणी भयोः “हे कंस ! तिमीले जसलाई प्रेमपूर्वक बिदाइ गर्दैछौ, त्यही देवकीको आठौं सन्तानले तिमीलाई मर्नेछ ।’’
यो सुनेर कंस अत्यन्त क्रोधित भए र देवकीलाई मार्न अघि बढे । वासुदेवले उनलाई सम्झाए : “तिमीलाई देवकीबाट होइन, उनको आठौं सन्तानबाट भय हो । म त्यो सन्तान तिमीलाई स्वयं सुम्पनेछु ।’’
कंसले वासुदेवको कुरा माने र दम्पतीलाई जेलमा राखे । नारदजीले आएर कंसलाई चतुराईपूर्वक प्रश्न गरे — आठौं सन्तानको गणना पहिलो गर्भबाट हो कि अन्तिम गर्भबाट ? यो शंका पैदा भएपछि, कंसले देवकीका सबै सन्तानहरूलाई जन्मिएपछि मार्ने निर्णय गरे । यसरी एकपछि अर्को गरी सात सन्तानहरूलाई कंसले निर्दयतापूर्वक मारे ।
श्रीकृष्णको जन्म
अन्ततः, भाद्रपद कृष्ण अष्टमी, रोहिणी नक्षत्र, र मध्यरातको समयमा श्रीकृष्णको जन्म भयो। जन्मसँगै कारागारमा दिव्य प्रकाश फैलियो । बालक कृष्णका चार भुजा थिए – शंख, चक्र, गदा र कमल धारण गरेका थिए ।
उनले वासुदेव र देवकीलाई भन्नुभयो : “अब म बालरूप धारण गर्छु । मलाई तुरुन्तै गोकुल लैजाऊ । त्यहाँ नन्द–यशोदाको घरमा भर्खर जन्मिएकी छोरीलाई ल्याएर कंसलाई सुम्प देऊ ।’’
वासुदेवका हथकडी आफैं खुल्न थाले, कारागारका ढोका स्वतः खुले । पहरेदारहरू निदाए । वासुदेवले बालक श्रीकृष्णलाई टोकरीमा राखी, यमुना नदी पार गर्दै गोकुलतर्फ लागे । यात्राको क्रममा यमुना नदीले श्रीकृष्णको पवित्र चरण छुने प्रयास गरिन्। भगवानले चरण झुकाउनु भयो, यमुना पछि हटिन् । वासुदेवले श्रीकृष्णलाई नन्दबाबाको घरमा यशोदाको छेउमा सुताए, र त्यहाँकी नवजात छोरी लिएर मथुरा फर्किए । कारागारमा सबै कुरा पहिले झैं भयो ।
छोरी रुन थालेपछि कंसलाई जानकारी दिइयो। उनले बालिकालाई पत्थरमा हान्न खोजे तर बालिका देवी रूप धारण गर्दै आकाशमा उडिन् र भनिन् : “हे कंस ! मलाई मारेर केही प्राप्त हुने छैन । तिम्रो मृत्यु गोकुलमा जन्मिइसकेको छ ।’’
कंसले श्रीकृष्णलाई मार्न अनेकौं राक्षसहरू – पूतना, शकटासुर, तृणावर्त, बकासुर आदि – पठाए, तर सबैलाई श्रीकृष्णले आफ्ना बाल लीलामार्फत पराजित गरे । युवावस्थामा पुगेपछि श्रीकृष्णले मथुरा पुगेर कंसको वध गरे र उग्रसेनलाई पुनः गद्दीमा पुनस्थापित गरे ।
श्रीकृष्ण जन्माष्टमी आज पनि सम्पूर्ण श्रद्धा र भक्ति भावका साथ मनाइन्छ । यस दिनः मन्दिरहरू विशेष सजावट गरिन्छ, कृष्णको बालरूप सजाइन्छ, झुला बनाइन्छ, झाँकी र शोभायात्रा गरिन्छ, भक्तजन व्रत बस्छन्, मध्यरातमा कृष्ण जन्मको आरती, शंखध्वनि, भजन–कीर्तन हुन्छ । प्रसाद वितरण गरी व्रत तोडिन्छ ।
श्रीकृष्ण जन्माष्टमी केवल एक धार्मिक पर्व मात्र होइन, यो धर्मको विजय, अधर्मको विनाश, र मानवताको स्थापनाको प्रतीक हो । भगवान श्रीकृष्णले जीवनका विभिन्न पक्षहरू – बाल्यकाल, मित्रता, प्रेम, राजनीति, र धर्म युद्ध – मा मार्गदर्शन दिएका छन् । उनका उपदेश, विशेष गरी भगवद्गीताका शिक्षाहरू, आजका युगमा पनि उत्तिकै सान्दर्भिक छन् । श्रीकृष्ण जन्माष्टमी हामी सबैलाई सत्य, धर्म, प्रेम र कर्मको मार्गमा अग्रसर हुन प्रेरणा दिन्छ ।