जड भरतको कथा

1.3K

जड भरतको कथा

नारायण भट्टराई /

राजा भरत अत्यन्त धर्मपरायण शासक थिए । उनी आफ्नो कर्तव्य सही रूपमा निर्वाह गर्थे र प्रजाप्रति अपार माया राख्थे । समय आएपछि उनले राजपाट छोड़े र राज्य सञ्चालनका जिम्मेवारी छोराहरूलाई गर्दै हरिहर क्षेत्रको गण्डकी किनारमा भगवानको उपासनामा लागे ।

मृग शावकप्रतिको आसक्ति

हरिहर क्षेत्र वरिपरि असंख्य मृगहरू बस्थे । एक दिन गण्डकीमा नुहाउँदै गर्दा, सिंहको गर्जनबाट आतंकित भएको गर्भवती मृगी नदीमा हाम्फाल्दै आइपुग्छ । भागदोडमा उसले नदीमै शावक जन्माउँछ र आफैँ बगेर टाढा जान्छ ।
यो दृश्यले भरतको हृदय पग्लिन्छ। उनले असहाय शावकलाई बचाएर काखमा लिन्छन् र अत्यन्त स्नेहले हुर्काउन थाल्छन् ।
तर यही स्नेह क्रमशः आसक्तिमा बदलिन्छ ।
हरिणलाई घाँस खुवाउने, पानी दिने, काखमा राख्ने—यही दैनिकी बनेपछि भरतको ध्यान भगवानको उपासनाबाट हट्दै जान्छ। प्रार्थना, ध्यान–सबै छाडिन्छ । अन्ततः हरिणप्रतिको मोहले ग्रस्त भई उनी त्यही अवस्थामै देहत्याग गर्छन् ।

मृग जन्म र पुनः मानव जन्म

यस आसक्तिको फलस्वरूप अर्को जन्ममा भरत मृग बन्छन् । तर चेतना भने अघिल्लो जन्मकै हुन्छ । मृगको रूपमा उनले ऋषि पुलहको आश्रम नजिक बस्दै, कुनै आसक्ति नराखी शान्त जीवन बिताउँछन् । गण्डकीतटमै उनको मृत्यु हुन्छ ।
पुनर्जन्ममा उनी अंगिरस कुलका ब्राह्मण घरमा जन्मिन्छन् । अघिल्लो जन्महरूको स्मृति भएकाले संसारिक चासो उनमा रहँदैन । पढाइ वा काममा रुचि नदेखेपछि भाइहरूले उनलाई खेतको भारी काममा लगाउँछन् । उनी चुपचाप सहन्छन्, सादा खाना खान्छन्—सबै प्रपञ्चबाट अलग, मानौँ मूर्ख जस्तै देखिने तर भीतर अत्यन्त जागृत ।

बलिदान संकट र देवीको रक्षा

एक दिन खेतमै बसिरहेको बेला डाँकाहरूले उनलाई समात्छन् र बलिदान दिन देवीको मन्दिरमा लैजान्छन् । तर बलिदान हुन लाग्दै गर्दा देवी प्रकट भई डाँकाहरूलाई नाश गर्छिन् र भरतलाई जोगाउँछिन् ।

राजा रहुगनसँगको साक्षात्कार

यस्तै एक दिन राजा सिन्धु–सौवीरका रहुगन यात्रा गर्दै थिए । उनका पालकीबाहकमध्ये एक थाकेपछि, भरतलाई देखेर पालकी बोक्न लगाइयो । भरतले आफ्नो खुट्टामुनि पर्ने साना जीव–जनावर नोक्सान नहोस् भनेर ध्यान दिएर हिँडे । यसले पालकी अस्थिर भयो ।
राजा रिसाए—“यति बलियो भएर पनि पालकी राम्रोसँग बोक्न नसक्ने ? मूर्ख, पागल! म राजा हुँ, दण्ड दिन सक्छु ।”
भरत भने मुस्कुराए र शान्त स्वरमा बोले—
“हे राजा, थकाइ शरीरको हो, चेतनाको होइन । यो शरीर पाँच तत्वबाट बनेको छ—जसरी ढुङ्गा बनेका छन् । ढुङ्गा र शरीरको भिन्नता चेतनामा मात्र हो। दण्डले मूर्खलाई विद्वान् बनाउन सकिँदैन । मालिक–दास, उच्च–निम्न—यी सबै व्यवहारिक कल्पनाहरू मात्र हुन् ।”
राजा रहुगन त्यस गहिरो वचनले स्तब्ध परे, पालकी राखे र नमस्कार गर्दै सोधे—
“हे अवधूत ! तपाईं को ? म ब्राह्मणलाई पालकी बोकाएर ठूलो पापमा परेछु । कृपया मार्गदर्शन गर्नुहोस् ।”

भरतका उपदेश

भरतले आफ्ना अघिल्ला जन्महरू बताउँदै भने— “म पहिले चक्रवर्ती राजा भरत थिएँ—जसको नामबाट ‘भारतवर्ष’ नाम रह्यो । तर म एक मृगप्रति मोहवश मृगकै रूपमा जन्में । अहिले पुनः मानव बनेर संसारका सबै आसक्ति त्यागेको छु ।
मन नै सबै दुःखको मूल हो । मनको वशमा परे मानव नर्कमा जान्छ ।
आसक्ति रहित मनले मात्र मुक्ति प्राप्त गर्छ ।
शरीर पृथ्वी तत्व हो—तपाईंको, मेरो, सबैको । चल्ने-नचल्ने भने चेतनाको कुरा हो । पालकीले शरीरलाई बोकेको हो, आत्मालाई होइन । त्यसैले, हे राजा रहुगन !
आसक्ति काट्नुहोस्, भगवानलाई सम्झनुहोस्, धर्म र करुणाले शासन गर्नुहोस् । सबैलाई मित्र ठान्नुहोस्—यही मुक्ति मार्ग हो ।”

गंगावतरणको प्रसंग

श्रीमद्भागवतमा वर्णन भएअनुसार, भगवान विष्णुले तीन लोक नाप्दा उनका नङबाट निस्केको पवित्र जल नै पछि गंगा बन्यो । ध्रुवलोक हुँदै पृथ्वीमा ओर्लिएको यो विष्णुपदी धाराले हजारौं युगदेखि जीवहरूलाई पवित्र गर्दै आएको छ ।
यिनै धाराहरू—सीता, अलकनन्दा, चक्षु र भद्रा—पर्वत शृङ्खलाहरू हुँदै समुद्रमा मिसिए । भागीरथी (गंगा माता) पृथ्वीमा बगेर मुक्तिको मार्ग प्रशस्त गर्छिन् ।

कथाको मुख्य शिक्षा

कुनै पनि कार्य कर्तव्यभावले, तर आसक्ति बिना गर्नु—यही जड भरतको कथा बताउन चाहन्छ ।
संसारमा मन जहाँ गयो त्यही बन्धन बनिन्छ । मन शान्त र आसक्ति मुक्त भयो भने—त्यहीँबाट मुक्ति मार्ग खुल्छ ।