नारायण भट्टराई /
हिन्दु धर्ममा विभिन्न जातजाति, थर र समुदायअनुसार अनेक चाडपर्व तथा पूजापद्धति प्रचलित छन् । देवता, आस्था र भाव एउटै भए पनि पूजा गर्ने शैली, विधि र परम्परा भने ठाउँ, वंश र संस्कृतिअनुसार फरक–फरक पाइन्छ । यही विविधताभित्र “कुलपूजा” पनि नेपाली समाजको एक महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक परम्परा बनेर रहिआएको छ ।
कसैले यसलाई कुलदेवताको पूजा भन्छन्, कसैले पुर्खाको सम्झना, त कसैले वंश परम्पराको निरन्तरता। कतिपय स्थानमा कुलपूजा “कुलायन”, “दीपावली”, “कालरात्री” वा अन्य स्थानीय नामबाट समेत चिनिन्छ । तर धेरै परिवारमा आफ्ना वास्तविक कुलदेवता को हुन्, कुन देवी वा देवताको आराधना गरिन्छ भन्ने कुरा समेत स्पष्ट रूपमा थाहा नभएको अवस्था देखिन्छ । पुर्खाले जे गर्दै आए, त्यही परम्परा निरन्तर चलिरहेको पाइन्छ ।
कुलपूजामा मष्टदेवता, भैरव, भगवती, नाग वा अन्य देवी–देवताको पूजा गर्ने चलन विभिन्न क्षेत्रमा प्रचलित छ । कतिपय गोत्र र वंशमा विशेष मष्टदेवताको पूजा गरिन्छ भने कतै कुलदेवीलाई मुख्य रूपमा मानिन्छ । उदाहरणका रूपमा वशिष्ठ गोत्रमा ढाडेमष्ट तथा सरस्वती वा भवानीको पूजा गर्ने परम्परा कतिपय ठाउँमा पाइन्छ । यद्यपि एउटै गोत्रभित्र पनि स्थान र वंशअनुसार कुलदेवता फरक हुन सक्छन् ।
बलिप्रथामा पनि विविधता छ । कतै राँगो, पाठो, भेडा वा कुखुराको बलि दिने चलन छ भने कतै कुभिण्डो, नरिवल, घिरौला जस्ता प्रतीकात्मक वस्तु चढाएर पूजा सम्पन्न गरिन्छ । यसले धार्मिक अभ्यासमा स्थानीय संस्कृति र मान्यताको प्रभाव स्पष्ट देखाउँछ ।
कुलपूजासँग जोडिएको अर्को बहस हो–तर्पण गर्ने कि नगर्ने ? यसको उत्तर परम्परा र पूजा गरिने उद्देश्यअनुसार फरक हुन्छ । यदि कुलपूजा पितृहरूको स्मरण तथा सम्मानका लागि गरिन्छ भने तर्पणलाई महत्वपूर्ण मानिन्छ । धर्मशास्त्रमा पितृलाई जल अर्पण गरी तृप्त पार्ने परम्परालाई विशेष महत्व दिइएको छ । “पितृ तर्पण बिना पितृ सन्तुष्ट हुँदैनन्” भन्ने मान्यता पनि पाइन्छ ।
तर यदि पूजा मुख्य रूपमा कुलदेवता वा कुलदेवीको आराधनाका लागि हो भने तर्पण अनिवार्य मानिँदैन । देवपूजामा धूप, दीप, नैवेद्य, प्रसाद र आरतीलाई महत्व दिइन्छ भने पितृकार्यमा तर्पण र पिण्डदानलाई विशेष मानिन्छ ।
आजभोलि धेरै घरमा मिश्रित परम्परा देखिन्छ–पहिले पितृ तर्पण गर्ने र त्यसपछि कुलदेवताको पूजा गर्ने । यसलाई धेरैले सन्तुलित तथा विवादरहित विधिका रूपमा स्वीकार गरेका छन् ।
कुलपूजा श्रद्धा र शुद्धतासहित गरिने परम्परागत पूजा हो । सामान्यतया स्नान गरेर शुद्ध भई पूजा स्थान सफा गरिन्छ । जल, तिल, कुश, फूल, धूप, दीप, अक्षता, नैवेद्य तथा आवश्यक सामग्री तयारी गरिन्छ ।
संकल्पपछि गणेश स्मरण गरी पूजा प्रारम्भ गरिन्छ । पितृ तर्पण गर्ने परम्परा भए तिल मिश्रित जल अर्पण गरिन्छ । त्यसपछि कुलदेवता वा कुलदेवीको पूजा, धूप–दीप, नैवेद्य, प्रार्थना र आरती गरिन्छ । अन्त्यमा प्रसाद वितरण तथा पितृ र कुलदेवताप्रति कृतज्ञता प्रकट गरिन्छ ।
धार्मिक मान्यता अनुसार तर्पण गर्दा दक्षिणतर्फ फर्केर बस्ने र कुलदेवताको पूजा गर्दा पूर्व वा उत्तर फर्केर बस्ने चलन छ । तर सबैभन्दा महत्वपूर्ण कुरा श्रद्धा, विश्वास र परिवारको परम्परा नै मानिन्छ ।
गोत्र ऋषि परम्परासँग सम्बन्धित मानिन्छ, जस्तै कश्यप, भारद्वाज, वशिष्ठ आदि । तर कुलदेवता भने वंशगत र पारिवारिक परम्परासँग जोडिएको विषय हो । त्यसैले एउटै गोत्रका फरक परिवारमा फरक कुलदेवताको पूजा हुने सम्भावना रहन्छ ।
नेपालका पहाडी क्षेत्रमा विशेष गरी “मष्टो” परम्परा अत्यन्त प्रचलित छ । कालमष्टो, भैरव मष्टो, सिद्ध मष्टो, नाग मष्टो लगायतका विभिन्न नाम क्षेत्रअनुसार फरक पाइन्छन् । कतिपय थरमा कालिका, भगवती वा भैरवलाई कुलदेवताको रूपमा पूजा गर्ने चलन पनि छ । धार्मिक तथा सांस्कृतिक जानकारहरूका अनुसार आफ्नो वास्तविक कुलदेवता पहिचान गर्न परिवारका ज्येष्ठ सदस्य, पुरानो पूजा थान, वंशावली वा पुराना पुजारीसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
कुलपूजा केवल धार्मिक कर्मकाण्ड मात्र होइन, पुर्खासँगको सम्बन्ध, सांस्कृतिक पहिचान र पारिवारिक एकताको प्रतीक पनि हो । यसको मूल भाव श्रद्धा, स्मरण र संरक्षणमा आधारित छ । विधि, परम्परा र शैली फरक भए पनि उद्देश्य परिवार, वंश र आस्थाको निरन्तरता कायम राख्नु नै हो । त्यसैले कुलपूजालाई बाध्यता मात्र नभई आफ्नो संस्कार, इतिहास र सांस्कृतिक पहिचानसँग जोडिएको परम्पराका रूपमा बुझ्न आवश्यक छ ।